काठमाडाैं महानगरका सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ फोटो प्रदर्शनी अभियान सुरु
थानकोट ।
काठमाडौँ महाननगरपालिकाभित्रका सामुदायिक सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ नामक फोटो प्रदर्शनी सुरु भएको छ । कामपा र नेपाल फोटो फाउन्डेसनको सहकार्यमा विद्यार्थीलाई लक्षित गरी नेपालका पुराना फोटा प्रदर्शनी सुरु गरिएको हो ।
फाउन्डेसनका संयोजक जीवन नेपालका अनुसार सोमबार बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयबाट फोटो प्रदर्शनी सुरु गरिएको छ । नेपालको शिक्षा, यातायात, संस्कृति, चाडपर्व, दैनिक जीवनयापनका विविध पक्ष, ऐतिहासिक घटनाक्रम, नेपाली मुद्रा तथा सिक्का, विश्वसम्पदा तथा प्रकृतिकस्थललगायत विधाका दुई सय ८० भन्दा बढी फोटा प्रदर्शनीमा समावेश गरिएकाउनले जानकारी दिए ।
प्रदर्शनीले विद्यार्थीमा नेपाली समाजको रुपान्तरण एवं पुस्तान्तरणमा देखिएका परिवर्तन तुलनात्मक रूपमा बुझ्न र अध्ययन गर्न मद्दत मिल्ने अपेक्षा आयोजक संस्थाले लिएको छ । “असी वटा फोटाहरू पहिले र अहिले शीर्षकमा प्रदर्शनीमा राखिएका छन् । समावेश भएकामध्ये ६३ फोटा नेपाली नागरिकले खिचेका हुन् भने बाँकी विदेशी नागरिकले खिचेका हुन्”, नेपालले भने ।
हिजोको नेपाल नाम दिइएको सो प्रदर्शनीमा विसंं १९२० देखि हालसम्म खिचिएका तस्वीर समावेश गरिएको कार्यक्रम संयोजक नेपालले बताए । फोटो फाउन्डेसनले विगत एक दशकदेखि नेपालका पुराना फोटा सङ्कलन गरी प्रदर्शनी सञ्चालन गर्दै आएको छ ।
उक्त कार्यक्रम ज्ञानोदय मावि बाफल, विश्वनिकेतन मावि त्रिपुरेश्वर, रत्न राज्यलक्ष्मी मावि बानेश्वर, शिवपुरी मावि बालुवाटार र कन्या मन्दिर मावि न्योखामा सञ्चालन हुने उनले जानकारी दिए । पहिलो दिन सोमबार ज्ञानोदय माविमा विद्यार्थीले चाखपूर्वक पुराना फोटाहरूको अवलोकन गरेका उनको भनाइ छ ।
यसपछि सो कार्यक्रम विश्वनिकेतन माविमा सञ्चालन हुनेछ । जेठ महिनाभित्र कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको नेपाल फोटो फाउन्डेसनले जनाएको छ । उल्लेखित विद्यालयमा उक्त प्रदर्शनी सकिएपछि अन्य विद्यालयमा पनि उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।
आयोजकका अनुसार कतिपय फोटोहरू पाठ्यक्रममा मिल्न रहेका छन् भने कतिपय नेपालको समग्र भूगोलका बारेमा जानकारी लिन सकिने किसिमका छन् । ज्ञानोदयको कक्षा ८ मा अध्ययनत विद्यार्थी अपेक्षा रेग्मीले यस्ता प्रदर्शनी कम्तीमा एक हप्ताको हुनुपर्ने माग गरिन् ।
अभियानको दोश्रो दिन मंगलबार त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा फोटो प्रदर्शनी सम्पन्न भएको छ ।













