चन्द्रागिरिबाट सगरमाथा चढ्ने पहिलो व्यक्तिलाई ब्राइट फ्यूचर माविले आज सम्मान गर्ने

Thankot Times

थानकोट ।

सगरमाथा आरोही मच्छेगाउँका विधान श्रेष्ठलाई नैकापस्थित ब्राइट फ्यूचर माविले आज सम्मान गर्ने भएको छ ।

शुक्रबार बिहान विद्यालयमा एक कार्यक्रमका बीच श्रेष्ठलाई सम्मान गर्न लागिएको हो ।

श्रेष्ठले गत जेठ ५ गते विश्वको सर्वोच्च शिखरमा पाइला राखेका थिए । उनी सगरमाथा पुग्ने पहिलो चन्द्रागिरि बासी भएको मानिन्छ ।

ब्राइट फ्यूचर माविमा हुने सम्मान कार्यक्रममा सांसद् कृष्ण गोपाल श्रेष्ठ, राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकाय, बागमती प्रदेश सभा सदस्य केशव प्रसाद पोखरेल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी लगायतको उपस्थिति रहने ब्राइट फ्युचर माध्यामिक विद्यालयका संस्थापक अध्यक्ष मोहन कुमार कार्कीले जानकारी दिए ।

विभिन्न साहसिक गतिविधिमा देश विदेशमा प्रसिद्धि कमाएका तथा सगरमाथा पुग्ने चन्द्रागिरिकै पहिलो व्यक्ति भएका कारण श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको ब्राइट फ्यूचर माविका प्रधानाध्यापक दयाराम थापाको भनाइ छ ।

सगरमाथाबाट फर्किएपछि श्रेष्ठलाई स्थानीयले गत शनिबार (जेठ १७) भव्य स्वागत गरेका थिए भने विभिन्न संघसंस्थाले उनको सम्मानमा कार्यक्रम गरिरहेका छन् ।

चन्द्रागिरि नगरपालिकाले गत बुधबार नगरमा एक कार्यक्रमकाबीच श्रेष्ठलाई सम्मान गरेको थियो ।

विधान श्रेष्ठ ल्होत्से हिमालको सफल आरोहणपछि हालसम्म कम समय अवधिमा सगरमाथा सफल आरोहण गर्ने कीर्तिमानी टोलीका समेत सदस्य हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *