नेपाल एपीएफ स्कुल कीर्तिपुरमा विद्यार्थी स्वयंसेवक विपद् उद्धारक तालिम सम्पन्न
थानकोट ।
कीर्तिपुर नगरपालिका र नेपाल एपीएफ स्कुल, कीर्तिपुरको सहकार्य तथा समन्वयमा सञ्चालित विद्यार्थी स्वयंसेवक विपद् उद्धारक तालिम शुक्रबार सम्पन्न भएको छ ।
यही जेठ ११ गतेदेखि सञ्चालित सो १५ दिने तालिममा सहभागी विद्यार्थीहरूलाई विपद् व्यवस्थापन, प्राथमिक उपचार, भत्किएका संरचनामा खोज तथा उद्धार, सडक दुर्घटनामा उद्दार, डोरीमार्फत उद्धार प्रविधि, आगलागी नियन्त्रण लगायत विविध सैद्धान्तिक तथा व्यवहारिक सीप प्रदान गरिएको विद्यालयको भनाइ छ ।
तालिम समापन समारोहमा प्रशिक्षार्थीहरूले तालिम अवधिभर सिकेका सीपहरूको नमुना प्रस्तुति प्रदर्शन गरेका थिए ।
कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल तथा उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता)ले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाण-पत्र वितरण गर्दै यस्ता तालिमहरू विद्यालयमै सीमित नराखी नगरका अन्य वडाहरू, समुदाय र अन्य निकायहरूसँग सहकार्य गर्दै विस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । कीर्तिपुर नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजनालाई प्रभावकारी बनाउन यस्ता तालिमलाई निरन्तरता दिने कुरामा नगरप्रमुख डंगोलले प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, समारोहमा बोल्दै विद्यालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र के.सी.ले विद्यालयले यस्ता सीपमूलक, व्यवहारिक तथा समुदायमैत्री तालिमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
विद्यार्थी स्वयंसेवक विपद् उद्धारक तालिम समापनका क्रममा कीर्तिपुर नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु अधिकृतहरू, विद्यालयका प्रधानाचार्य, सशस्त्र प्रहरी नायव उपरीक्षकहरू, स्कुल सुरक्षा वेशका वेश प्रमुख, तालिममा खटिएका प्रशिक्षकहरू, शिक्षक वर्ग, सञ्चारकर्मीहरू, स्थानीय भद्रभलाद्मी तथा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
















