सगरमाथा विजेता विधान ब्राइट फ्यूचरमा सम्मानित, आरोहण अनुभव सुन्न पाउँदा विद्यार्थी दंग

Thankot Times

थानकोट ।

सगरमाथा आरोही विधान श्रेष्ठलाई नैकापस्थित  ब्राइट फ्युचर माध्यामिक विद्यालयले एक भव्य समारोहका बीच सम्मान गरेको छ ।

शुक्रबार विद्यालय हातामा संयोजित समारोहका बीच चन्द्रागिरि नगर क्षेत्रबाट पहिलोपटक विश्वको सर्वोच्च शिखर टाकुरामा पाइला राख्न सफल मच्छेगाउँका युवा विधान श्रेष्ठलाई सम्मान गरिएको हो । 

सांसद् कृष्ण गोपाल श्रेष्ठ, राष्ट्रिय सभा सदस्य तथा नेपाली काग्रेसका प्रमुख सचेतक कृष्ण बहादुर रोकाय, बागमती प्रदेश सभा सदस्य केशव प्रसाद पोखरेल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी लगायतको उपस्थितिमा श्रेष्ठलाई सम्मान गरिएको ब्राइटफ्यूचर मावि द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सो क्रममा चन्द्रागिरि नगरपालिका वडा नं ९ का वडाध्यक्ष अच्युत अधिकारी, वडा नं. १४ का वडाध्यक्ष राजभाई महर्जन, वडा नं १५ का वडाध्यक्ष घनश्याम लुँईटेल, नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउत, राप्रपाका केन्द्रीय सदस्य देवेन्द्र प्रधान लगायतले विधान श्रेष्ठको उच्च मनोबल तथा साहसको प्रसंशा गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

सगरमाथा आरोही सम्मान कार्यक्रममा ब्राइट फ्युचर माविका प्रधानाध्यापक दयाराम थापाले मच्छेगाउँका विधान श्रेष्ठले हासिल गरेको उपलब्धी उनको व्यक्तिगत मात्रै नभई सिङ्गो चन्द्रागिरि नगर र देशको गर्वको विषय भएको र श्रेष्ठले सगरमाथा आरोहणको माध्यमबाट युवा पुस्तामा प्रेरणाको बलियो सन्देश प्रसारण गरेको धारणा राखे । 

यसैगरी ब्राइट फ्युचर माविका अध्यक्ष मोहन कुमार कार्कीले विधान श्रेष्ठको योगदानलाई राष्ट्रले समेत सम्मान गर्नुपर्ने धारणा राख्दै विधानले चन्द्रागिरिको पहिचानलाई थप विस्तार गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

बा आमासहित सम्मान थाप्न ब्राइट फ्यूचर पुगेका विधान श्रेष्ठले सर्वोच्च शिखर सगरमाथा आरोहणका अनुभव, संघर्ष र आफ्नो जीवनका आगामी योजनाहरूका बारेमा धारणा राखेका थिए । श्रेष्ठले सगरमाथा यात्राको आफ्नो अनुभव सुनाइरहँदा विद्यार्थीहरू रोमाञ्चित बनेका थिए । 

जेठ ५ मा सगरमाथा पुगेका श्रेष्ठलाई खुम्बु क्षेत्रबाट फर्किएपछि सम्मान थाप्न भ्याइ नभ्याइ छ । स्थानीयले गत शनिबार (जेठ १७) उनको भव्य स्वागत गरेका थिए

चन्द्रागिरि नगरपालिकाले गत बुधबार नगरमा एक कार्यक्रमकाबीच श्रेष्ठलाई सम्मान गरेको थियो ।

विधान श्रेष्ठ ल्होत्से हिमालको सफल आरोहणपछि हालसम्म कम समय अवधिमा सगरमाथा सफल आरोहण गर्ने कीर्तिमानी टोलीका समेत सदस्य हुन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *