मुग्लिन-मलेखु सडक आजदेखि असार ७ गतेसम्म राति साढे चार घण्टा बन्द हुने
थानकोट ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्ड आजदेखि राति साढे चार घण्टा बन्द हुने भएको छ ।
आजदेखि असार ७ गतेसम्म राति सवारी आवागमन बन्द गरेर सडक स्तरोन्नति गर्न लागिएको हो ।
नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो ।
बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको उनले बताए ।
राति १०:३० बजेदेखि बिहान ३:०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने उनले जानकारी दिए ।
नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मुग्लिन र हलुका सवारीसाधन कुरिनटारमा रोकिनेछन् ।
यसैगरी, मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मलेखु र हलुका सवारीसाधन शितलबजारमा रोकिनेछन् ।
रोकिएका सवारीसाधनलाई बिहान ३ बजेपछि मात्रै छोडिने उनले जानकारी दिए ।



















