काठमाडाैंको तीनकुने घटना : दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ जनालाई रिहा गर्न आदेश
थानकोट ।
काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा भएको घटनामा संलग्न ७ जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
मेडिकल व्यवसायी तथा आन्दोलनका अगुवा दुर्गा प्रसाईंसहित सात जनालाई अदालतले आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश गरेको हो। जसमा सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ रहेका छन् ।
बिहीबार मध्यराति जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थुनामा रहेका बाँकी ३२ जना प्रतिवादीलाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार हिरासतमा रहेका ३९ जना प्रतिवादीमध्ये बाँकी ३२ जनालाई धरौटीमा छोड्न आदेश दिइएको र उनीहरूमाथि आपराधिक उपद्रवसम्बन्धी मुद्दा मात्र दायर गरिएको थियो।
काठमाडौं जिल्ला अदालतमा जेठ ११ गतेदेखि सुरु भएको थुनछेक बहस बिहीबार सकिएको थियो ।
लगत्तै अदालतले राति अबेर आदेश दिएको हो ।


















