सडक किनारमा रोकेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकै गाउँका दुुई युवकको मृत्यु
थानकोट ।
पर्साको वीरगजमा आज (शुक्रबार) रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा एकै गाउँका दुई युवकको मृत्यु भएको छ ।
दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्।
बिग्रेर सडक किनारामा रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा बागमती प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोकिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पर्साकै छिपहरमाई गाउँपालिका निवासी रामाकान्त यादव र विजय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। वीरगञ्ज महानगरपालिका-२२ ड्राईपोर्ट सडकखण्डमा पर्ने सिताराम भन्ने ठाउँमा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको हो ।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका तीन युवकमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए।
दुर्घटनामा सोही ठाउँका २२ वर्षीय विजय कुमार यादव गम्भीर घाइते छन्।
उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक चालक फरार भएका छन्। उनको खोजी भइरहेको छ।
तीव्र गतिको कारण अनियन्त्रित भएको तीन जना सवार मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी लम्सालले बताए।


















