चितवन जाँदै गरेको हायस नागढुङ्गाबाट भीरमा खस्दा २० जना घाइते, २ जनाको अवस्था गम्भीर
थानकोट ।
त्रिभुवन राजपथ अन्तर्गत चन्द्रागिरि नगरपालिका-२, नागढुंगानजिकै शनिबार अपरान्ह एउटा माइक्रोबस दुर्घटना हुँदा सो माइक्रो बसमा सवार २० जना घाइते भएका छन् ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ८३२९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेको थियो ।
सो माइक्रोबसमा चालक, सहचालकसहित २० जना सवार थिए ।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गणबाट खटिएका सशस्त्र प्रहरीहरू तथा स्थानीयले घाइतेहरूको उद्दार गरेका थिए । घाइतेमध्ये दुईजनाको अवस्था भने गम्भीर रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
दुर्घटनामा चार जना बालबालिका, पाँच जना महिला र ११ जना पुरुष घाइते भएका हुन् ।
दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार दुर्घटनामा घाइते हुनेमध्ये १० जना भारतीय नागरिक रहेका छन् ।
घाइतेहरूको अहिले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको बोहराले जानकारी दिए । गाडीका चालक ४३ वर्षीय अनिल तामाङ नुवाकोटको ककनी गाउँपालिका–३ का हुन् । उनीसहित माइक्रोमा ६ जना बालबालिका, ५ महिला र १० जना पुरुष रहेका थिए ।
घाइतेमध्ये १६ वर्षका सक्षम अधिकारीको बायाँ खुट्टामा, ४१ वर्षका सुजाता अधिकारीको टाउको, खुट्टा लगायतको भागमा चोट लागेको छ ।
अन्य घाइते नेपालीहरू अञ्जिला शाह, सुविदा मल्ल, ईश्वर थापा, गणेश पौडेल, सन्तबहादुर थापा, सुनिल श्रेष्ठ, प्रशान्त अधिकारी, प्रयास गुरुङको अवस्था भने सामान्य रहेको छ ।
भारतीय नागरिक पटनाका २४ वर्षीया रिन्कुदेवीको बायाँ हातमा चोट लागेको छ ।
रवीकुमार, सार्थककुमार, मानवीकुमार, डब्लुकुमार, राजकुमार, शिवकुमार, प्रञ्जलकुमार, निश्चलकुमार र रितुकुमारीको अवस्था भने सामान्य रहेको छ ।
तस्वीरः सुरेश सुर्खेती












