सातवटै प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दै
थानकोट ।
आज आइतबार देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८२/२०८३ का लागि बजेट प्रस्तुत गर्दैछन् ।
संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउनैपर्छ । यसअघि संघीय सरकारले जेठ १५ मा बजेट प्रस्तुत गरेको थियो । तर, प्रतिनिधिसभामा देखिएको अवरोधका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको थिएन् ।
रास्वपालगायत प्रतिपक्षी दलको अवरोधबीच सभामुखले शुक्रबार बैठक सञ्चालन गरेपछि आउँदा बैठकमा बजेट सम्बन्धी छलफल अघि बढ्ने अपेक्षा गरिएको छ ।
यसैबीच, लुम्बिनीमा आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले राजश्व र व्ययको वार्षिक अनुमान प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ ।
सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट ल्याइने उल्लेख गर्दै यस बजेटले समग्र लुम्बिनी प्रदेशको समृद्धि र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
प्रदेश सरकारको नीति तथा कार्यक्रमको निरन्तरतामा आधारित यो बजेटले प्रदेशवासीको जीवनस्तर उकास्ने विश्वास सरकारले लिएको छ ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । यो आकारको तुलनामा आगामी बर्षको बजेट घटाएर ल्याउने तयारी भएको सरकारका प्रवक्ता दिनेश पन्थीले जानकारी दिए ।
प्रदेशले यो वर्षदेखि घाटा बजेट नल्याएर यथार्थपरक ल्याउने भन्दै बजेटको सिलिङ ३२ अर्ब तोकेको छ ।


















