प्रचण्ड कप भलिबल: पुलिसलाई हराउँदै एपीएफ पहिलो, एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
थानकोट।
पोखरामा सम्पन्न प्रचण्ड कप राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफ क्लब पहिलो बनेको छ ।
शनिबार पोखरा रंगशालामा नेपाल पुलिस क्लबमाथि सानदार जित निकाल्दै एपीएफ पहिलो संस्करणको प्रतियोगिताको च्याम्पियन बनेको हो । टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब तेस्रो बनेको छ ।
एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा हरायो । पुलिसमाथि हाबी बनेको एपीएफले २५–१९, २५–२० र २५–१३ को सहज जित निकाल्यो । निरुता ठगुन्नाको अलराउन्डर प्रदर्शनमा एपीएफको सहज जित सम्भव बनेको हो ।
नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा तेस्रो स्थानका लागि भएको खेलमा एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड विजयी भयो ।
एभरेस्टमाथि न्यु डायमण्डले पहिलो सेट २५-८, दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-११ ले सहज जित निकाल्दै तेस्रो हुन सफल भयो ।
उपाधिसहित एपीएफले ६ लाख रुपैयाँ प्राप्त गर्यो । पुलिसले तीन लाख रुपैयाँमा चित्त बुझायो ।
तेस्रो हुने न्यु डायमण्डले एक लाख रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी निरुता ठगुन्ना घोषित भइन् । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । विधागत पुरस्कारतर्फ पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमन्डकै शलिना श्रेष्ठ उत्कृष्ट लिब्रो, एपीएफकी सृष्टि खड्गी उत्कृष्ट सर्भर र एपीएफकै पुष्पजंग मल्ल उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फका उत्कृष्टले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।
नेसनल स्पोर्ट्स एकेडमीले आयोजना गरेको प्रतियोगिता यही जेठ २७ गतेदेखि सुरु भएको थियो ।
प्रतियोगितामा राष्ट्रियस्तरका ६ महिला भलिबल टिम सहभागी थिए ।













