चन्द्रागिरि वडा नं. १५ तीनथाना बालश्रम मुक्त वडा घोषणा
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथाना बालश्रम मुक्त वडा घोषणा भएको छ ।
बालश्रम विरुद्धको विश्व दिवसको अवसर पारेर बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको प्रमुख अतिथ्यतामा उक्त वडा घोषणा भएको हो ।
बालश्रम मुक्त वडा घोषणाका लागि पूरा गर्नुपर्ने मापदन्ड पूरा गरी वडालाई बालश्रम मुक्त बनाइएको थियो । घोषणा कार्यक्रममा बोल्दै नगरप्रमुख गिरीले चन्द्रागिरि नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न लागिएको र बालमैत्री स्थानीय शासन घोषणाका बालश्रम मुक्त घोषणा पनि एक सुचक भएको हुँदा आजको यो घोषणा महत्वपूर्ण रहेको बताए ।
बालबालिकाका क्षेत्रमा नगरले बजेटको व्यवस्था गरेर नै सिंगो नगरपालिकालाई बालमैत्री बनाउने नगरप्रमुख गिरीको भनाइ थयो ।
कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले बालबालिकाको सवालमा समुदायपनि संवेदनशील हुनुपर्ने धारणा राखिन् ।
यस वडामा बालश्रम प्रयोग भएको जो सुकैले देखेको अवस्थामा नगरस्तरीय वडास्तरीय बालअधिकार समितिलाई जानकारी गराउन नगर उपप्रमुख श्रेष्ठको आग्रह थियो ।
घोषणा कार्यक्रममा वल्र्डभिजन इन्टरनेसनल नेपालका प्रतिनिधि भरत तामाङ्ग र बाल विकास समाजका प्रतिनिधि डा.चपला कोइरालाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कदर पत्र तथा मायाको चिनोसहित बालश्रम मुक्त वडा घोषणाको लागि अहोरात्र खटिएर काम गर्ने कर्मचारी समाजसेवी संस्थाका प्रतिनिधि नेपाल प्रहरी, नगर प्रहरी लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
यो सँगै चन्द्रागिरि नगरपालिकाका १५ वटा वडामध्ये १२ वटा वडामा बालश्रम मुक्त वडा घोषणा भएका छन् ।












