काठमाडौं जिल्लाव्यापी बृहत खेलकुदः एलिनालाई करातेको एकल कातामा स्वर्ण
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित धनबहादुर स्मृति प्रतिष्ठानकी प्रशिक्षार्थी एलिना थिङले काठमाडौं जिल्लाव्यापी बृहत खेलकुदमा करातेको महिला एकल कातामा स्वर्ण पदक जितेकी छन् ।
एलिनाले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार फाइनलमा तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाललाई हराइन् । नागर्जुन नगरपालिकाकी बन्दना तामाङ र आयोजक काठमाडौं महानगरपालिका वडा २६ की मिस्टी श्रेष्ठ तेस्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५–५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
महिला टिम कुमितेमा सोनाम शेर्पा, समिक्षा ढुंगाना, मोनिका लामा, आयुशा प्रधान र मनीषा लामाको नागर्जुन टोली पहिलो भयो । काठमाडौं महानगरपालिका–३१ का महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दनुवार दोस्रो भए । गोकर्णेश्वरका टीकामाया जिम्मी, डोमा तामाङ, इभान जेलिना बस्नेत, यान्सु थोकर र आयुशा तिमल्सिना तथा तार्केश्वरका करुणा गडेल, अनु मोक्तान, एलिना तामाङ, प्रतीक्षा तामाङ र सलिना तुलाधर संयुक्त तेस्रो भए । पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०–१० हजार पुरस्कार जितेका छन् ।
दुईदिने प्रतियोगितामा महिलातर्फ दुई स्पर्धामा ८० खेलाडीले प्रतिस्पर्धा गरेको करातेका संयोजक सन्तोष श्रेष्ठले जनाएका छन् ।
त्यस्तै पुरुष फुटसलमा कामनपा वडा २६ र वडा १३ सेमिफाइनलमा पुगेका छन् । लैनचौर खेल मैदानमा वडा २६ ले वडा १२ लाई ९–१ को गोलले पराजित गर्यो । वडा १३ ले वडा १४ विरुद्ध ४–३ गोलको जित पायो ।
बृहत खेलकुदअन्तर्गत तेक्वान्दो बिहीबारदेखि सुरु हुनेछ । पुरुष/महिलामा १०–१० स्पर्धामा प्रतिस्पर्धा हुने तेक्वान्दोका संयोजक गौरव रजकले जनाएका छन् । २ सय ५९ खेलाडीको सहभागिता रहनेछ ।
दुईदिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।












