चन्द्रागिरि वरपरका स्थानीय तहले पनि सार्वजनिक गरे आयव्ययको अनुमान
थानकोट ।
देशभरका ७५३ स्थानीय निकायमध्ये अधिकांशले मंगलबार (असार १०) आर्थिक वर्ष २०८२-८३ का लागि बजेट तथा पालिकाको नीति र कार्यक्रम सार्वजनिक गरेका छन् ।
चन्द्रागिरि नगरपालिका, भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका लगायत केही पालिकाले २-३ दिन अगाडि नै सार्वजनिक गरिसकेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र पालिकाहरुले आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्छ । बजेटमाथि कार्यतालिका बनाई १५ दिनभित्र सभाले बजेट पारित गर्न वा सुझावसहित कार्यपालिकामा पठाउन सक्नेछ ।
सुझावसहित प्राप्त भएको बजेटमाथि कार्यपालिकाले पुनःविचार गरी आवश्यक परिमार्जनसहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित सभामा पाँच दिनभित्र पुनः पेश गर्नुपर्ने हुन्छ । यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनमा व्यवस्था छ ।
विगतका वर्षहरुमा पनि विवादका कारण कैयौं पालिकाहरुले समयमा बजेट तथा नीति र कार्यक्रम जारी गर्न सकेका थिएनन् । तर, कुनै पनि महानगरपालिका र उपमहानगरपालिकाको बजेट र कार्यक्रमको घोषणा रोकिएको थिएन । यस पटक भने आन्तरिक विवादका काठमाडाैं महानगरपालिका र धरान उपमहानगरपालिका लगायत देशकै चर्चित स्थानीय निकायहरु नै बजेट र नीति तथा कार्यक्रम जारी गर्न असफल भएका छन् ।
चन्द्रागिरि नगरपालिकाले गत असार ८ गते आगामी आर्थिक वर्ष (२०८२/८३) का लागि २ अर्ब ९३ करोड ४६ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
चन्द्रागिरिसँग सीमा जोडिएको काठमाडाैंको नागार्जुन नगरपालिकाले २ अर्ब ३९ करोड ७१ लाख ६८ हजार रुपैयाँको बजेट पेश गरेको छ । नागार्जुन नगरपालिका कार्यवाहक नगर प्रमुख शुसिला अधिकारीले आर्थिक वर्ष २०८२ /०८३ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेकी हुन् ।

यस्तै, दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङले नगरको आर्थिक वर्ष २०८२ /०८३ को वार्षिक अनुमानित बजेट पेश गरेकी छन् । दक्षिणकालीमा लागि यसवर्ष (२०८२ /०८३) ८९ करोड ६७ लाख ४६ हजार रुपैयाँको बजेट अनुमान गरिएको छ ।

कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३९ करोड ३४ लाख ३५ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर उप-प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक शुभलक्ष्मी शाक्यले नीति तथा कार्यक्रमका साथै आगामी आ.व ०८२–०८३ का लागि सो अनुमानित बजेटको खाका प्रस्तुत गरेकी हुन् ।

चन्द्रागिरिसँग सीमा जोडिएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ का लागि रु. ४१ करोड ७२ लाख बराबरको अनुमानित बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । गाउँपालिका उपप्रमुख उमा कुमारी लामाले मंगलबार पालिकाको अनुमानित बजेट सार्वजनिक गरेकी हुन् ।

यस्तै, मकवानपुरकै थाहा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९० करोड ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । थाहा नगर उपप्रमुख भरत गोपालीले नगरले सो वर्षका लागि उक्त रकम बराबरको अनुमानित बजेट पेश गरिएको जानकारी दिए ।

यस्तै, धादिङको धुनिवेशी नगरपालिका उपप्रमुख सुरज उप्रेतीले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि ९५ करोड २० लाख ८५ हजार ६ सय ८ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।



















