धादिङबाट लोड भएको ३१९ किलो चरेस पर्सामा बरामद

Thankot Times

थानकोट ।

प्रहरीले ३१९ किलो चरेससहित पक्राउ परेका युवालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका युवा मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई बिहीबार सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार, काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको प्रदेश २–०३ –००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध चरेस राखिएको थियो ।

विशेष सूचनाको आधारमा पर्साको प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले परवानीपुर चोकबाट ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको हो । 

उक्त चरेस नेपाल हुँदै भारततर्फ लैजाने तयारी गरेको खुलेको छ ।

प्रहरीले ट्रकलाईसमेत नियन्त्रणमा राखेको छ । एसपी मिश्रका अनुसार, चरेस ट्रकको पछाडि सामान बोक्ने भागमा प्लास्टिकमा पोका पारेर राखेका थिए । 

 ट्रक चालकको साथबाट प्रहरीले एक लाख ९२ हजार रुपैयाँसमेत बरामद गरेको छ । 

पर्सा प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त चरेस धादिङबाट लोड भएको खुलेको हो ।

पक्राउ परेका बुद्धिबहादुरले प्रहरीसितको प्रारम्भिक बयानमा चरेस धादिङबाट लोड गरेर भारत लैजाने योजना रहेको बताएका छन् । 

प्रहरीले चालकको भन्दा पनि चरेस तस्करीमा अन्य व्यक्तिको संलग्नता हुनसक्ने आशंका गरेको छ ।

चालक बुद्धिबहादुरको भूमिकाबारे अनुसन्धान थालिएको छ । 

पर्सा प्रहरीले बिहीबार देशभर लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ मनाइरहेको अवस्थामा ठूलो मात्रामा लागुऔषध चरेस बरामद गरेको हो ।

लागुऔषधविरुद्धको अभियानमा नागरिकस्तरबाट नै सशक्त रूपमा लाग्नुपर्ने प्रहरीले बताउँदै आएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ