दलहरूबीचको किचलोले व्यवस्थाप्रति नै नागरिकको विश्वास कमजोर बन्दै गयो: नेता महर
थानकोट ।
नेपाली कांग्रेसका नेता नैनसिंह महरले प्रमुख दलहरूबिचकाे आन्तरिक किचलाेले व्यवस्थाप्रति नै नागरिकको विश्वास कमजोर बन्दै गएकाे बताएका छन् ।
बिहीबार वीरगन्जमा नेपाली कांग्रेसले आयाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै नेता महरले यस्ताे बताएका हुन् । नेता महरले सत्ताको खेलले नीतिगत शून्यता जन्माएको समेत बताए ।
केही शक्तिहरू धमिलो पानीमा माछा मार्ने षडयन्त्र गर्दै व्यवस्था परिवर्तनको दिवा सपना कोरिरहेको समेत उनले बताए ।
नेता महरले सरकार र सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै विधायिकी प्रक्रिया ठप्प पारेर देशलाई सङ्कटतर्फ धकेलेको बताए । ‘सरकार कसरी चलिरहेको छ भन्ने कुरा संसदीय समितिले महिनौँ लगाएर टुङ्ग्याएका विधेयकसमेत सदनमा अलपत्र पर्नुले प्रस्ट पार्छ,’ उनले भने, ‘विधायिकी प्रक्रिया ठप्प पारेर सत्ता स्वार्थको खेलमा रमाएको यो गठबन्धनले देशलाई निकास दिनसक्नु पर्दछ ।’
नेता महरले सरकारको उदासीनताले मधेसका आधारभूत समस्या झनै विकराल बनेको समेत बताए ।देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसङ्ख्या भएको मधेस प्रदेशका लागि सङ्घीय बजेट विनियोजनमा कमी कमजोरी भएको बताए ।












