तीनथानास्थित वडा अध्यक्ष शैक्षिक विकास कोषले कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति दिने
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा रहेको वडा अध्यक्ष शैक्षिक विकास कोषले दश जोड २ तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
चन्द्रागिरि नगरपालिकामा स्थायी बसोबास गर्ने यस वर्ष माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण विद्यार्थीहरुले कक्षा ११ मा अध्ययनका लागि विगत वर्ष झै यस वर्ष पनि छात्रवृत्ति दिइने कोषले जनाएको छ ।
चन्द्रागिरि नगरभित्र स्थायी बसोबास गर्ने तर आर्थिक अवस्था कमजोर तथा जेहेन्दार विद्यार्थीहरुलाई विगत वर्षझै यस वर्ष पनि ११ र १२ को लागि छात्रवृत्तिको व्यवस्था गरिएको शैक्षिक विकास कोषका सल्लाहकार उत्तमबहादुर राउतले जानकारी दिए ।
इच्छुक विद्यार्थीहरुले यही असार २० गतेसम्म कोषको कार्यालय चन्द्रागिरि १५ स्थित मुनाल क्लबमा नाम दर्ता गराउन सक्ने जनाइएको छ।
सो कोषले समन्वय र सहकार्यमा रहेका विद्यालयहरु ज्ञानोदय मावि बाफल, जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वर, काठमाडौं शिक्षा क्याम्पस सतुङ्गल, प्रभात मावि चेकपोष्ट, कंकाली मावि पुरानो नैकाप, विश्व निकेतन मावि त्रिपुरेश्वर, गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालय नैकाप, मंगलोदय बहुमुखी क्याम्पस थानकोट रहेका छन् ।













