नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष कैद, २८ करोड जरिवाना गर्ने विशेष अदालतको फैसला

Thankot Times

थानकोट ।

विशेष अदालतले काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष ३ महिना कैद र २८ करोड रुपैयाँभन्दा बढी जरिवानाको फैसला सुनाएको छ।

फैसलासँगै उनी पदबाट स्वतः निलम्बित भएका छन्।

सोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले ९ करोड २२ लाख रुपैयाँ घुस लिएको ठहर गर्दै घुसबापत ८ वर्ष कैद सजाय तोकेको हो।

मेयर जस्तो सार्वजनिक ओहोदामा बसेर कसुर गरेकाले थप ३ महिना कैद सजाय सुनाइएको फैसलामा उल्लेख छ।

अदालतले मेयर बस्नेत र घुस दिने पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई जनही २ करोड ३० लाख रुपैयाँ जरिवाना तोकेको छ।

साथै, पद्मा कोलोनी प्रा.लि. र पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.ले पनि सोही बराबरको जरिवाना तिर्नुपर्नेछ। कुल ९ करोड २२ लाख रुपैयाँ बिगो बराबरको रकम चारै प्रतिवादीबाट जफत हुने फैसलामा उल्लेख छ।

यसैगरी, अदालतले बस्नेतलाई १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको मुद्दामा पनि दोषी ठहर गरेको छ।

यस कसुरमा उनलाई ३ वर्ष कैद सजाय तोकिएको छ। यो ८ वर्षे कैद सजायमै गाभिनेछ। तर, सम्पत्ति शुद्धीकरणमा बिगोको दोब्बर अर्थात् २६ करोड २५ लाख रुपैयाँ जरिवाना र उक्त सम्पत्ति जफत हुने फैसला भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १५ गते बस्नेतविरुद्ध घुस लेनदेन र सम्पत्ति शुद्धीकरणको दुई छुट्टाछुट्टै मुद्दा विशेष अदालतमा दायर गरेको थियो।

बस्नेत नेपाली कांग्रेसबाट नागार्जुन नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ