काठमाडाैं शिक्षा क्याम्पसमा स्क्राबल खेलका बारेमा अन्तर्क्रिया सुरु
थानकोट ।
चन्द्रागिरि नगरपालिका र नेपाल स्क्राबल संघ चन्द्रागिरि नगर शाखाको आयोजना तथा काठमााडाैं शिक्षा क्याम्पसको प्राविधिक सहयोगमा चन्द्रागिरि नगरका विभिन्न विद्यालयका अंग्रेजी विषय शिक्षण शिक्षकहरूका लागि आज शनिबारदेखि स्क्राबल खेलका बारेमा अन्तरक्रियात्मक कार्यक्रम सुरु भएको छ ।
सतुङ्गलस्थित काठमाडाैं शिक्षा क्याम्पसमा सुरु भएको दुई दिने अन्तरक्रियामा पहिलो दिन शनिबार नगर क्षेत्रका ३० वटा संस्थागत विद्यालयका ३० जना शिक्षकहरू सहभागी भएको बताइएको छ ।
भोलि आइतबार सोही संख्यामा सामुदायिक विद्यालयका शिक्षकहरूसँग अन्तर्क्रिया गरिने चन्द्रागिरि स्क्राबल संयोजक शारदा श्रेष्ठले जानकारी दिइन् ।
कार्यक्रमको पहिलो दिन चन्द्रागिरि नगर उपप्रमुख बसन्ती श्रेष्ठ, नगरका सामाजिक विकास समिति संयोजक एवं वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेल, चन्द्रागिरि वडा नं. १० का वडाध्यक्ष शिवकुमार महर्जन, चन्द्रागिरि वडा नं. १३ का वडाध्यक्ष श्रीकृष्ण खत्री, चन्द्रागिरि नगर शिक्षा अधिकृत बुद्धिराज भट्ट, काठमाडाैं शिक्षा क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ता, ब्राइटफ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्की, जेसिस स्कुलका प्रधानाध्यापक सरोज महर्जन लगायतको उपस्थिति रहेको थियो ।
तालिमपश्चात सहभागी सबै विद्यालयका लागि स्क्रबल बोर्डसमेत हस्तान्तरण गरिनेछ ।
आइतबार नगरप्रमुख घनश्याम गिरीले समेत सो अन्तर्क्रिया कार्यक्रममा सहभागिता जनाउने आयोजकको भनाइ छ ।
अंग्रेजी भाषाको विकास, सञ्चारको सीप, सहकार्य, नयाँ शब्द तथा शब्दावली सिकाउन खेलाइने स्क्राबल खेल संसारभर लोकप्रिय छ ।














