चन्द्रलोक प्रतिष्ठानद्वारा ब्राइट फ्यूचर माविलाई विशेष सम्मान
थानकोट ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन्।
चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले अहिले मुलुकको राजनीति विकृत भइसकेको भन्दै राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका हुन्।
उनले फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरु रहेको बताए।
राजनीति सुधार भएपछि ऐन कानुन र संविधानमा सुधार गर्न सकिने उनले बताए।
भट्टराईले शिक्षा क्षेत्रबाट निजि क्षेत्रलाई अलग्गाउन नसकिने उल्लेख गर्दै निजि क्षेत्रसँग मिलेर शिक्षा क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ठ नतिजा आत्मसाथ गर्ने चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइटफ्यूचर माविसहित ७ प्रदेशका सात विद्यालय समेत रहेका छन् ।
कार्यक्रममा ब्राइट फ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्की सम्मानित भएका हुन् । ब्राइट फ्यूचर माविबाट गत वर्ष माध्यमिक शिक्षा परीक्षामा सहभागी विद्यार्थी मध्ये चार जनाले ४.० जीपीए प्राप्त गरेका थिए ।
छ वर्षअघि स्थापना भएको चन्द्रलोक प्रतिष्ठानले वर्षेनी सामाजिक परोपकारका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थाहरूको सम्मान तथा विविध अन्तर्क्रियात्मक कार्यक्रमहरू समेत आयोजना गर्दै आएको छ।












