चन्द्रागिरि लगायतका काठमाडौंका विभिन्न क्षेत्रमा भीषण वर्षा, खाेला खाेल्सीमा जल सतह बढ्याे

Thankot Times

थानकाेट ।

रातभरको वर्षाका कारण काठमाडौंसहित विभिन्न जिल्लामा बाढी र पहिरोको जोखिम रहेको छ ।

नदीहरूमा जलसतह बढेको छ ।

काठमाडौं उपत्यकास्थित वाग्मती नदीको खोकना र मनोहरा जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ । बाढी बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विष्णुमती नदी गांगबु र वाग्मती नदीस्थित गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनाबाट यात्रा गर्नेले सतर्क हुनुपर्ने विभागको भनाइ छ ।

उता, कपिलबस्तु जिल्लास्थित वाणागंगा वर्षा मापन केन्द्रमा र आसपास भारी वर्षा मापन भएको छ । थप वर्षा हुने पूर्वानुमान रहेकाले सो क्षेत्र भइ बहने ससाना नदीमा बाढीको जोखिम रहेकोले तटीय क्षेत्रमा तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

सुनकोशी नदी पचुवारघाट र खुर्कोट जलमापन केन्द्रमा जलसतह सतर्कता तहनजिक रहेको छ । बहाव बढ्दो रहेकाले सुनकोशी नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।

नवलपरासीको बर्दघाट, परासी, देउराली नवल र आसपास भारी वर्षा मापन भएको र थप वर्षा हुने पूर्वानुमान रहेको छ । सो क्षेत्र भइ बहने गण्डक नहर, बिनाई खोला, अरुङ खोला र अन्य साना नदीमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *