काठमाडाैंमा सार्वजनिक गाडीमा सुनको सिक्री लुट्ने दुई जना पक्राउ
थानकोट ।
काठमाडाैंमा सार्वजनिक गाडीमा सुनको सिक्री लुट्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा लमजुङ घर भएका ३२ वर्षीय राजु गुरुङ र सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पूर्ण गदाल रहेका जिल्ला प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।
अस्ति मङ्गलवार बेलुका साढे ६ बजेतिर काठमाडाैं महानगरपालिका–३ तिलिङ्गाटार सडक खण्डमा बसुन्धारातर्फ आउँदै गरेको सार्वजनिक गाडीमा सवार व्यक्तिले घाँटीमा लगाएको सुन लुटेर उनीहरू भागेका थिए ।
उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले लुटेको सिक्रीसहित पक्राउ गरेको परिसरका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले बताए ।
गुरुङ र गदालले लुटेका सुनको मूल्य एक लाख ९० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।



















