यस्तो छ आज असार २९ गते आइतबार दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज (असार २९) पनि वर्षाको अनुमान गरिएको छ ।

यस दिन दिउँसो देशभर साधारणतया बदली (बादल/वर्षा) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सातै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । विशेष गरी पहाडी भूभागमा वर्षाको सम्भावना बढी रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।

“सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

यस दिन राति पनि देशभर साधारणतया बदली रहने अनुमान छ । “कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाको बुलेटिनमा उल्लेख छ ।

राति कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

कास्की, लमजुङ, गोरखा, सिन्धुपाल्चोकलगायत स्थानमा गए राति (असार २८) वर्षा भएको छ । कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । यस दिन बिहान पनि केही स्थानमा पानी परिरहेको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास छ । यो रेखा पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर (नेपालनजिक) रहेको महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपालतिर हुँदा यता वर्षाको सम्भावना बढी हुन्छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *