काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरसभाको १७औं अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्दै १२ अर्ब ८० करोड पूर्वाधार विकासमा, ५ अर्ब २ करोड सामाजिक विकासमा र ३ अर्बभन्दा बढी प्रशासनिक खर्चमा छुट्याइएको जानकारी दिइन्।

बजेटमा एक वडा एक उद्यम, सार्वजनिक यातायातको व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य प्रणाली सुधार, तथा सम्पदा संरक्षणलाई प्राथमिकतामा राखिएको छ।

कुल बजेटमध्ये २० अर्ब १२ करोड आन्तरिक स्रोत र बैंक मौज्दातबाट जुटाइनेछ भने बाँकी ४ अर्ब ९८ करोड नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट व्यवस्थापन गरिनेछ। 

‘अगामी आर्थिक वर्षको लागि सञ्चित कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ,’ उनले बजेट भाषणका क्रममा भनिन्, ‘नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त, समानीकरण, राजश्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको छ ।’

महानगरले आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरेको छ भने सामाजिक विकासमा २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरेको छ । ‘पूर्वाधार विकास तर्फ ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ,’ उनले भनिन्, ‘कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।’

उनले आफूहरू काठमाडौंंको विकास गर्न आएका निर्वाचित जनप्रतिनिधि भएको भन्दै काठमाडौंको मुहार परिवर्तन गर्न अन्य निकाय र सरोकारवाला निकायहरूबीच परस्पर सहकार्य र समन्वयमा काम अगाडि बढाउन चाहेको बताइन् । ‘यसका लागि हामीले संघ र प्रदेश सरकारसँग सधैं सहकार्यको अपेक्षा राखेका छौं,’ उनले भनिन् ।

तस्बिरः काठमाडाैं महानगरपालिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ