ईमेज च्यानलमा नयाँ व्यवस्थापन, समाचार प्रमुखमा जगदीश खरेल
थानकोट।
नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलको ब्यवस्थापन परिवर्तन भएको छ ।
विगत २७ वर्षदेखि आरके मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै आएको ईमेज च्यानल टेलिभिजन २०८२ साल साउन १ गतेदेखि नयाँ व्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएको छ ।
ईमेज च्यानल टेलिभिजनसँगै ईमेज एफएम ९७.९ र ईमेजखबर डट कम पनि नयाँ व्यवस्थापन अन्तर्गत नै सञ्चालन हुनेछन् ।
नयाँ व्यवस्थापनको कार्यकारी अध्यक्षमा सञ्चार उद्यमी एवं कामना प्रकाशन गृहका प्रमुख कार्यकारी दिरेकलाल श्रेष्ठ रहेका छन् भने प्रबन्ध निर्देशकमा अर्का सञ्चार उद्यमी चेङ अग्रवाल रहेका छन् ।
नयाँ व्यवस्थापनले यस ईमेज च्यालन टेलिभिजनमा शुरुवाती दिनदेखि कार्यरत जगदीश खरेललाई समाचार प्रमुखको जिम्मेवारी समेत प्रदान गरेको छ ।
लाजिम्पाटस्थित ईमेज च्यानलको कार्यालयमा आयोजित विशेष समारोहमा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले नयाँ ब्यवस्थापनलाई जिम्मेवारी हस्तान्तरण गरे ।
समारोहमा अध्यक्ष मानन्धरले युवा सञ्चार उद्यमीहरुको काँधमा जिम्मेवारी बिसाउन पाउँदा आफूलाई सन्तोष लागेको बताए ।
सो अवसरमा कार्यकारी अध्यक्ष दिरेकलाल श्रेष्ठले ईमेज च्यालन टेलिभिजनको छविको ख्याल गर्दै कम्पनीलाई अघि बढाउने बताए ।
आफूले नेपालको कामना प्रकाशनबाट नैतिकतासहितको पत्रकारिता सिकेको उल्लेख गर्दै उनले अमेरिका र नेपालमा गरी आफ्नो साढे दुई दशक लामो छापा माध्यमको अनुभव र ईमेजको तीन दशकको गर्विलो ईतिहासलाई एकाकार गरेर नयाँ उचाईमा पुर्याउने अठोट व्यक्त गरे ।
त्यसैगरी नवनियुक्त समाचार प्रमुख जगदीश खरेलले टेलिभिजनका दर्शक नघटेको तर टेलिभिजन हेर्ने माध्यम फेरिएको बताए ।
२०४१ साल मंसिर १५ गतेदेखि निरन्तर सञ्चालनमा रहँदै आएको नेपालको पहिलो संस्थागत प्रकाशन गृह कामना प्रकाशन गृह अब हाम्रो भगिनी संस्थाको रुपमा जोडिएको छ । टेलिभिजन, रेडियो, अनलाइन र छापा गरी चारवटै माध्यमबाट अझ सशक्त र प्रभावकारी रुपमा प्रस्तुत हुने प्रतिवद्धता पनि नयाँ ब्यवस्थापनले जनाएको छ ।


















