माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रने खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको चेतावनी

Thankot Times

थानकोट ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु माथि लगाइएको कर तत्काल नहटाए देशभरिका ४५ हजार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु सशक्त रूपमा चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।

सोमबार देशभरका जिल्ला प्रशासन कार्यालय र मुख्य मन्त्री कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए पछि खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) को राष्ट्रिय कार्यालयद्वारा जारी विज्ञप्तीमा खानेपानी उपभोक्ता संस्थाहरु माथि लगाएको अव्यहारिक कर तत्काल खारेज गर्नुपर्ने र बेवास्ता गरेमा चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को आह्वानमा सोमबार खानेपानी तथा सरसफाइ उपभोक्ता जिल्ला महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत र प्रदेश महासंघले मुख्य मन्त्री मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाईएको थियो भने फेडवासनका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्याल नेतृत्वको टोली प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापन पत्र पेश गरेको थियो ।

फेडवासनले खानेपानीजस्तो आधारभूत सेवा र नागरिकको मौलिक हकमा पर्ने विषयमा कर लगाइनु संविधान र सामाजिक न्यायको भावना विपरित भएको उल्लेख गर्दै, तत्काल कर छुटको कानुनी व्यवस्था गर्न माग गरेको छ।

फेडवासनले अभियान सफलतापूर्वक सम्पन्न भएको निश्कर्ष निकाल्दै सहभागी सबै तहगत महासंघ, उपभोक्ता संस्था, सञ्चार माध्यम तथा सहयोगीहरुलाई धन्यवाद दिँदै आगामी दिनमा यो अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

सोमबार ज्ञापनपत्र बुझाउन खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल चन्द्रागिरि नगर समितिका प्रतिनिधिसमेत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *