काठमाडाैं महानगरद्वारा कक्षा ११-१२ को छात्रवृत्ति प्रवेश परीक्षाका लागि १६ हजार विद्यार्थी छनोट

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षाका लागि १६ हजार १३७ विद्यार्थी छनोट भएका  छन् ।

७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्येबाट यी विद्यार्थी छनोट भएका हुन् ।

पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको अथवा काठमाडौं महानगरपालिकामा स्थाई बसोबास भएको प्रमाण संग्लग्न नभएका एक हजार ९२ आवेदन अस्वीकृत भएका महानगरले जनाएको छ ।

शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीमा विज्ञान संकायका लागि ११ हजार ५९०, व्यवस्थापन संकायका लागि चार हजार १६४, मानविकी संकायका लागि ३२, शिक्षा संकायका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश छन् ।

छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ । अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्नेछ । गलत उत्तरका लागि कुनै नकारात्मक अंक प्रदान नगरिने महानगरले बताएको छ ।

परीक्षाको नतिजापछि ‘मेरिट सूची’का आधारमा छात्रवृत्ति प्रदान गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ