नागढुङ्गा-मुग्लिन सडक खण्डमा निर्माणदेखि पहिरो रोकथामको प्रयास जारी
थानकोट ।
नागढुङ्गा–मुग्लिन सडक खण्डमा निर्माणदेखि पहिरो रोकथामको काम भइरहेको छ ।
नागढुङ्गा–नैबिसेको पहिलो प्याकेजअन्तर्गत चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार कम्पनी सगुनले काम गरिरहेको छ ।
यो सडक खण्डमा कालोपत्रेको काम सकिएको निर्माण व्यवसायी ज्ञानेन्द्र घिमिरे बताए ।
उनका अनुसार झ्याप्ले खोलामा सडक निर्माणसँगै पहिरो रोकथामको काम चलिरहेको छ ।
एक वर्षअघि झ्याप्ले खोलामा पहिरोले जनधनको क्षति गरेको थियो । असोजमा गएको पहिरोले ३५ जनाको ज्यान लिएको थियो ।
निर्माण व्यवसायी घिमिरेका अनुसार लेदोसहितको पहिरोको कारणबारे पनि अध्ययन भइरहेको छ ।
सडक भन्दा माथिको प्लटिङले गर्दा पहिरो आएको प्रारम्भिक अनुमान छ ।
अहिले भित्तामा ‘ग्याबिन’ लगाइएको छ ।
प्लटिङ भएको भाग आसपासका भित्तामा बाँस रोप्नेदेखि अत्याधुनिक तबरले भित्तालाई आरसीसी ढलान गरिँदैछ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझाका अनुसार दुई वटा प्याकेजमध्ये एउटा प्याकेज नागढुङ्गा–नाैबिसे खण्डसम्म र अर्को नाैबिसे–मलेखु खण्डसम्ममा झन्डै ५५ किलोमिटरमध्ये २७ किलोमिटरमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ ।
त्यसैमा १५ वटा पुलमध्ये आठ वटा पुलबाट गाडी नै चल्न शुरू गरेका छन् ।
निर्माण तथा पुललगायतको काम भइरहेको र अर्को बर्खामा यात्रुले सास्ती खेप्नुनपर्ने उनको भनाइ छ ।
तस्बिर सामाजिक सञ्जालबाट












