काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक
थानकोट ।
काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालन गरिएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

महानगरको शिक्षा विभागका अनुसार, हिजो शनिबार ५४ वटा परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा १४ हजार १७३ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
उत्तीर्ण हुन न्यूनतम ४० अंक (४० प्रतिशत) आवश्यक थियो र ४० अंक नकटाउने विद्यार्थीलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० ओटा बहुवैकल्पिक प्रश्नहरू समावेश थिए । गलत उत्तरका लागि नकारात्मक अंकनको व्यवस्था थिएन । देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए । तीमध्ये १४ हजार १७३ जनाले परीक्षामा भाग लिएका थिए ।
नतिजा महानगरपालिकाको आधिकारिक वेबसाइटबाट हेर्न सकिन्छ ।
काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयमा चारहजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध छन् ।
















