आज पहिलो साउने सोमबारको व्रत गरिँदै, चन्द्रागिरिका शिवालयमा बिहानैदेखी घुइँचो

Thankot Times

थानकोट ।

आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ । 

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको भिडलाई मध्यनजर गर्दै बिहान ३ बजेदेखि नै लाम व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन, बत्ती व्यवस्थापन, आकस्मिक स्वास्थ्य उपचार सञ्चालनलगायत काम भैरहेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

साउनको सोमबार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । पशुपतिनाथका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ । 

साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजन पनि साउनमा लाखौँ हुने गरेका छन् ।

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरू भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । 

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 

साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको उनले बताए  । 

मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ । यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ ।

यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् ।

यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वाससमेत छ ।

चन्द्रागिरि नगरका शिव मन्दिरहरूमा सोमबार बिहानैदेखी श्रद्धालुहरूको घुइँचो लागेको छ ।

चन्द्रागिरिका चन्दन भराटेश्वर, मातुलेश्वर, गोलोकेश्वर लगायतका शिवमन्दिरमा महिला तथा पुरुषहरूको भीड लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *