बैंकिङ कसुरमा फरार श्रेष्ठ पक्राउ, थानकोट वृत्तमा पनि थियो मुद्दा

Thankot Times

थानकोट ।

बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेकी लता गुरुङ श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

४९ वर्षीया श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३० सितापाइलाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौं बबरमहलमा पेश गरिएको प्रहरीले जनाएको छ।

नेपाल सरकार विरुद्ध लता गुरुङ श्रेष्ठ नामक प्रतिवादीमाथि दायर बैंकिङ कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतले गत २०८१ मंसिर १६ गते फैसला सुनाएको थियो। फैसलामा उनलाई पीडितलाई दुई लाख बाइस हजार रुपैयाँ विगो भुक्तानी गर्न, सोही बराबर जरिवाना र एक दिन कैद सजायको साथै पीडित राहत कोषमा ८८८० रुपैयाँ तिर्नुपर्ने ठहर गरिएको थियो।

तर अदालतको फैसलापछि उनी फरार रहेकी थिइन्। पछिल्लो समय काठमाडौंमा फेला परेपछि पक्राउ गरिएकी श्रेष्ठबारे थप अनुसन्धान गर्दा उनले विभिन्न निकायमा थप चारवटा मुद्दामा समेत फरार रहेको खुल्न आएको छ।

प्रहरीका अनुसार लता गुरुङ श्रेष्ठमाथि ललितपुर प्रहरी परिसरमा एक लाख एघार हजार रुपैयाँको विगो भएको बैंकिङ कसूर मुद्दा, मालिगाउँ प्रहरी वृत्तमा सात लाख सत्तरी हजार रुपैयाँको विगो भएको दुई वटा मुद्दा, थानकोट प्रहरी वृत्तमा दुई लाख सतासी हजार रुपैयाँको मुद्दा तथा वैदेशिक रोजगार विभाग, ताहाचलमा एक लाख बयासी हजार रुपैयाँको वैदेशिक रोजगारसम्बन्धी कसूर मुद्दामा समेत फरार रहेको पुष्टी भएको छ।

प्रहरीले ती सबै मुद्दाहरूको थप अनुसन्धान अघि बढाएको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *