किसानका दुःख, बाँदर र बँदेल धपाउन २० हेरालु नियुक्त

Thankot Times

थानकोट ।

अर्घाखाँचीमा बाँदर र बँदेल धपाउन २० जना कर्मचारी नियुक्त गरिएको छ ।

किसानको खेती खाएर उठिबास लगाएपछि डिभिजन वन कार्यालय, अर्घाखाँचीले आइतबार बाँदर तथा बँदेल हेरालु छनोट गरी नाम सार्वजनिक गरेको हो ।

जसमा २० जनाको नाम सार्वजनिक गरिएको छ ।हेरालुले मासिक १० हजार रुपैयाँ पारिश्रमिकसहित सञ्चार खर्चसमेत पाउने छन् ।

वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती सुरक्षित गर्ने तथा मानव वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले बाँदर र बँदेल हेरालुका लागि २० जना कर्मचारी भर्ना गरिएको डिभिजनल वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।

अन्नबाली जोगाउन विभिन्न उपाय अवलम्बन गरे पनि समाधान नभएपछि हेरालु कर्मचारी नियुक्त गरिएको खड्काको भनाइ छ ।

उनीहरूलाई सोमबारदेखि नै बाँदर र बँदेलको धेरै आतंक देखिएका गाउँहरू पाली, किमडाँडा, बल्कोट, चिदिका, केरुङगा, अड्गुरी, खन, अर्घातोष, पोटुवाथुममा खटाइएको छ ।

६ वटा स्थानीय तहका १० वटा क्षेत्रमा दुई–दुई जनाको दरले हेरालु राखिएको छ । बाँदर र बदेलले अर्घाखाँचीमका खेतीबाली नष्ट गर्न थालेसँगै बसाइँसराइँ समेत तीव्र छ ।

साउनदेखि कार्तिक ५ गतेसम्म खेतबारीमा रहने मकै, फर्सी, कांक्रा, सिमी, बोडी लगायतका अन्न र तरकारी बालीमा बाँदर र बँदेलको आतंक हुने भएकाले यसवर्ष परीक्षणको रूपमा हेरालु राखिएको हो ।

कर्मचारीलाई बाँदर र बँदेल धपाउन तालिमसमेत दिइएको छ । हेरालुहरूले आफूले दिनभरि गरेको कामको विवरण हरेक दिन डिभिजन वन कार्यालयमा पठाउन पनि निर्देशन गरिएको छ ।

बाँदरको प्रकोपसँगै खेतीयोग्य जमिनहरू बाँझो हुने र रूख विरूवा उम्रिएर झाडी बढ्न थालेपछि गाउँहरूमा बाँदर र बँदेलको आतंक बढ्दै गएको छ ।

स्थानीय सरकारहरूले यसको सिको गरी बाँदर र मानिसबीचको द्वन्द्व कम गर्न आवश्यक सहयोग गर्नेसमेत कार्यालयको अपेक्षा रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *