पब्लिक क्याम्पस संघका पदाधिकारीले भेटे शिक्षा मन्त्री

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालयमा नयाँ उपकुलपतिकाे नियुक्तिपश्चात पनि विविध गतिरोधको अन्त्य नभएकाे भन्दै देशभरका सामुदायिक क्यामपसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका पदाधिकारीहरूले बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग भेट गरेका छन् ।

सो क्रममा विगत ८ महिनादेखी विश्वविद्यालय अनुदान आयोगमा सदस्य सचिव तथा सदस्यहरूको नियुक्ति हुन नसक्दा सामुदायिक क्याम्पसहरू नियमित अनुदानबाट बञ्जित हुन परेकोले यथासक्य रिक्त पदमा नियुक्ति गर्न मन्त्री पन्तसमक्ष अनुरोध गरिएको नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष एवं काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिए ।

यस्तै त्रिविमा प्रतिस्पर्धाविहीन रूपमा फास्ट ट्र्याक विधिबाट प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक नियुक्त गर्न लागिएको भन्दै असन्तुष्टि जनाउँदै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले १७ दिनदेखि ताला बन्दी गरेपछि रेक्टर, रजिस्ट्रार, सेवा आयोग अध्यक्ष र सदस्यहरू कार्यकक्ष बाहिरै बसेर काम गर्दै आएको विषयमा समेत पब्लिक क्याम्पस संघले शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

अखिल क्रान्तिकारीले कृति प्रकाशन र अनुसन्धानको आधारमा मात्र नियुक्ति गर्नु अन्यायपूर्ण छ, र जबसम्म खुला प्रतिस्पर्धा प्रणाली लागू गरिँदैन, तबसम्म पदाधिकारी प्रवेशमा रोक जारी रहने जनाएको छ । 

यस्तै, बुधबार नै देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका पदाधिकारीहरूले बुधबार त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. दिपक अर्यालसँग पनि भेट गरेका छन् ।

भेटका क्रममा सामुदायिक क्याम्पसहरूमा समावेश भएका विषयहरूलाई थप गर्ने तथा कार्यक्रम थपकाे प्रक्रिया अविलम्ब अघि बढाउन र नयाँ भर्नासँगै थप कार्यक्रममा नयाँ भर्ना लिने वातावरण तयार गर्न उपकुलपति प्रा. डा. अर्यालसमक्ष आग्रह गरिएको बताइएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक नहुँदै स्नातक तहमा भर्ना खोलिएको विषयमा समेत संघले त्रिवि उपकुलपतिको ध्यानाकर्षण गराएको छ ।

अर्यालले मंगलबारमात्रै सो जिम्मेवारी पाएका हुन् ।

सो भेटघाटमा नेपाल पब्लिक क्याम्पस संघका महासचिव गोविन्द बहादुर कार्की, राष्ट्रिय याेजना आयाेग सदस्य गिता पाैडेेल, नेकपा एमाले शिक्षा विभाग प्रमुख पार्वती रावल लगायत सहभागी भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *