केरुङमा अड्किएका दुई सय जना नेपाली नागरिक तातोपानी नाका हुँदै स्वदेश फिर्ता
थानकोट ।
चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न भूभागमा अलपत्र नेपालीलाई बुधबार नेपाल फर्काइएको छ ।
गत असार २४ गते भोटेकोसीमा आएको बाढीले रसुवागढीको मितेरी पुल बगाएपछि टिमुरे-केरुङ सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै आवागमन ठप्प हुँदा असार पहिलो साता रसुवा नाका हुँदै केरुङ, कैलाश, मानसरोवर पुगेका नेपालीहरु उतै अलपत्र परेका थिए ।
त्यसपछि गृह मन्त्रालयको अनुरोधमा चीन सरकारले अलपत्र परेका २०३ जना नेपालीलाई उद्धार गर्दै बुधबार तातोपानी नाकासम्म ल्याएर छोडिदिएको हो ।
उनीहरुलाई स्वागत गर्दै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालगायत सुरक्षाका निकायका प्रमुखहरुले जिम्मा लिएका थिए ।
तातोपानी नाका भएर नेपाल भित्रिएका नेपालीहरुलाई भोटेकोसी गाउँपालिकाले खाना र खाजाको व्यवस्थापन गरेको छ भने पूर्व अरनिको यातायात प्रालि र बार्हबिसे नगरपालिकाले गाडीको प्रवन्ध मिलाएको छ ।
अरनिकोले ३ र बाह्रबीसेले ४ गरि ७ वटा बस नि:शुल्क व्यवस्थापन गरिएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए ।


















