धादिङ बांगेपिपलकी पार्वती कार्की बनिन् एनसेल करोडपति

Thankot Times

थानकोट ।

‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ’ भन्ने सोचमा विश्वास गर्ने धादिङको गंगाजमुना गाउँपालिका– ६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले शुक्रबार खुसी हुँदै भनिन्, ‘अब भने साँच्चै हाम्रो पनि दिन आयो !’

कार्कीले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैं अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेपछिको उनको प्रतिक्रिया सुन्दा लाग्थ्यो, उनले जीवनमा ठूलो संघर्ष गरेकी छन्, धेरै गुमाएकी छन् ।

उनले झण्डै आठ वर्षअघि एनसेलको सिम किनेकी थिइन् र असारको तेस्रो साता रु ९९ को ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा स्वतः सहभागी भइन् । विक्रम संवत् २०७२ सालको भूकम्पमा धनसारमा सुतिरहेको एक महिना दुई दिनको कान्छो छोरा गुमाइन् ।

भूकम्पले छोरासँगै निर्माण सकेर घर पूजा गर्ने तरखरमा रहेको घर पनि ढलायो । त्यसपछि अझ बढी आर्थिक अवस्थाले पिल्सिएकी उनले ऋण गरेर श्रीमान्‌लाई वैदेशिक रोजगारीमा पठाएकी थिइन् । गाउँमा खेती किसानी गर्ने कार्की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् ।

उनका श्रीमान् अहिले बहराइनमा छन् भने छोरा काठमाडौंमा प्लस टुमा अध्ययनरत छन् ।​

एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् ।

‘मैले जीवनमा कैयौँ दु:खहरू भोगेकी छु, तर कहिल्यै हार नमानी कर्म गर्दै परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ, मेरो सोच र मैले गरेको संघर्षको परिणाम स्वरूप यो पुरस्कार प्राप्त भएको हो भन्ने लाग्छ, यसका लागि म एनसेल परिवारलाई विशेष धन्यवाद दिन्छु,’ उनले भनिन् । श्रीमान्‌लाई विदेश नफापेपछि उनले केही समय काठमाडौंमा व्यापार पनि गरिन् । तर केही महिनामै लाखौं रुपैयाँ घाटा भएपछि कार्कीले श्रीमान्‌लाई फेरि विदेश पठाएकी थिइन् ।

‘अहिले पनि श्रीमान् विदेश जाँदाको र अरु ऋण बाँकी छ, श्रीमान्‌को स्वास्थ्य पनि राम्रो छैन । अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन, नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ । छोरोको शिक्षामा लगानी गर्छौं,’ उनले सुनाइन् ।

एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक पुरस्कार स्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौं हप्ताको बीचमा नै साउन १ गतेबाट बन्द गरेको थियो । ‘सधैं अन करोडपति अभियानअन्तर्गत यो बम्पर पुरस्कार प्रदान गर्दै हाम्रो प्रतिबद्धता पूरा गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ,’ एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले भने, ‘सम्पूर्ण एनसेल परिवारको तर्फबाट म पार्वती कार्कीलाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको कथा आशाको कथा हो । यसले हाम्रो वचनप्रति रहेको अटल प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ । उहाँको यात्रामा भागिदार हुन पाउँदा हामी हर्षित छौं । उहाँले यो पुरस्कार रकमलाई आफ्नै व्यवसाय शुरू गर्ने सपना साकार पार्न प्रयोग गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । उहाँको श्रीमान् फर्किएपछि हामी धादिङ जाने योजनामा छौं।’

उपभोक्ताहरूको हितलाई ध्यानमा राखी सञ्चालन अवधिभित्रमा यस योजनामा सहभागिता जनाएका ग्राहकवर्गहरूलाई कम्पनीले प्रतिवद्धता जनाए बमोजिम विजेता घोषणा गरी पुरस्कृत गरेको हो ।

कार्कीसहित ३६ जनालाई नगद पुरस्कार हस्तान्तरण गरिसकिएको र बाँकी १५ जना एक लाख रुपैयाँ जित्ने ग्राहकहरूलाई पनि प्रमाणीकरणको प्रक्रिया पुर्‍याई पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *