दर्शनसहित पाँच सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण चुक्ता गर्न बागमती प्रदेशको सूचना

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकार अन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषित सहकारी संस्थाहरूका सम्पूर्ण ऋणीलाई आगामी भदौ मसान्तभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ।

तोकिएको समयभित्र ऋण नतिरे कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने मन्त्रालयले चेतावनी दिएको छ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शुक्रबार (साउन ९ गते) सूचना प्रकाशित गर्दै प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित पाँचवटा सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न निर्देशन दिएको हो।

यी संस्थाहरूमा सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्था परेका छन्।

समितिले भदौ ३१ गतेभित्र ऋणको साँवा र ब्याज सम्बन्धित समितिको बैंक खातामा बुझाउन अनुरोध गरेको छ। यदि सो अवधिसम्म पनि ऋण चुक्ता नगरेमा त्यसको अघिल्लो दिनलाई आधार मानी साँवा, ब्याज र हर्जाना रकम गणना गरी असुली प्रक्रिया अघि बढाइने स्पष्ट गरिएको छ।

समितिले सबै सरोकारवालालाई समयमै जिम्मेवारी पूरा गर्न आग्रह गर्दै अन्यथा कानुनी कारबाहीको प्रक्रियामा पर्ने चेतावनीसमेत दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *