चन्द्रागिरिमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण भएका विद्यार्थी नेकपा एमालेबाट सम्मानित
थानकोट ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) चन्द्रागिरि नगर कमिटीले २०८१ सालको माध्यामिक शिक्षा परिक्षा एसइईमा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
चन्द्रागिरि नगरमा बसोबास गरी २०८१ सालको माध्यामिक शिक्षा परिक्षा एसईईमा उत्तीर्ण भएका चन्द्रागिरि वडा नं. १ देखी १५ सम्मकै सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई सो पार्टीका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, नेकपा एमाले केन्द्रीय स्कुल विभाग सदस्य वाइपी आचार्य लगायतको उपस्थितिमा शनिबार कदर पत्र तथा मेडलसहित सम्मानित गरिएको हो । यस्तै, पहिलोपटक माध्यमिक शिक्षा परीक्षामा विद्यार्थी सहभागी गराई शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल सतुङ्गल बोसिगाउँको भैरवनाथ माविलाई समेत विशेष सम्मान गरिएको थियो ।
विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले सामुदायिक विद्यालयले स्तरोन्नती, क्षमता अभिवृद्धि, भौतिक प्रगतिमा जोड दिनुपर्ने धारणा राखे ।
उनले शिक्षा निःशुल्क हुनुपर्ने र शिक्षामा सबैको पहुँच हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षामा सामुदायिक र संस्थागत विद्यालयबीचको खाडल पुर्न जरुरी रहेको बताए । देशभर जहाँसुकै रहेका विद्यार्थीले प्राप्त गर्ने शिक्षा सरल र गुणस्तरीय हुनु पर्ने भन्दै शिक्षा नीतिमा एकरुपता हुनु पर्ने र विश्व बजारमा योग्य प्रतिस्पर्धीका रुपमा उत्पादन हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय स्कुल विभाग सदस्य वाइपी आचार्यले उपस्थित विद्यार्थीहरूका लागि संक्षिप्त प्रशिक्षण दिएका थिए ।
यस्तै, सम्मान कार्यक्रममा नेकपा एमाले चन्द्रागिरि नगर कमिटी अध्यक्ष उत्तम बहादुर राउतले एसइईमा उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिँदै विश्वका प्रख्यात व्यक्तित्वको प्रतिविम्ब सो हलमा उपस्थित रहेका विद्यार्थीहरूमा देखिएको धारणा राखे ।
नेपालले शिक्षा क्षेत्रमा निकै ठुलो फड्को मारेको बताउँदै देशमा केही भएको छैन भन्ने भाष्यलाई चिर्न जरुरी भएको बताए ।
सम्मान कार्यक्रममा नगर क्षेत्रकै विद्यालय तथा नगर क्षेत्रमा बसोबास गरी नगर बाहिरका विद्यालयबाट एसइई उत्तीर्ण गरेका विद्यार्थी सम्मानित भएका नेकपा एमाले चन्द्रागिरि नगर कमिटीले जनाएको छ । शनिबार ६ सय ५० भन्दा धेरै विद्यार्थी सम्मानित भएका हुन् ।
















