एक वर्षमा नेपाल प्रहरीमा जागिर छोड्नेको संख्या २ हजार ३६९ जना, २ हजार ७३ जनालाई कारबाही
थानकोट।
प्रहरी कर्मचारीमा जागिरप्रतिको मोह घट्दै गएको छ ।
आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार भेटघाटका क्रममा प्रस्तुत गरेको तथ्यांकले सोही कुरा देखाएको हो ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले प्रस्तुत गरेको तथ्यांकअनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ३६९ जनाले राजीनामा दिएको उल्लेख गरेका छन् । राजीनामा दिनेहरूमा कार्यालय सहयोगीदेखि प्रहरी अधिकारीसम्मका छन् ।
बढुवा र पदस्थापना सात हजार ४०० जना र सरुवा २१ हजार २२४ रहेको जानकारी दिए ।
राजीनामा दिनेमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका एक हजार ९४९ जना रहेका प्रवक्ता घिमिरेले बताए ।
“यो आर्थिक वर्षमा नयाँ नियुक्ति पदस्थापना दुई हजार ७१७ जना, बढुवा र पदस्थापना सात हजार ४०० जना र सरुवा २१ हजार २२४ रहेको छ । दुई हजार ३६९ जनाले राजीनामा दिनुभएको छ । जसमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका एक हजार ९४९ जना रहनुभएको छ । अनिवार्य अवकाशमा जानेहरू ५२३ जना हुनुहुन्छ । १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत हुनुभएको छ भने कारबाही दुई हजार ७३ जनालाई गरेका छौँ,” उनले भने ।
प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा अनिवार्य अवकाशमा जानेहरू ५२३ जना रहेको बताए ।
उनका अनुसार गत आर्थिक वर्षमा १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने दुई हजार ७३ जनालाई कारबाही गरिएको छ ।


















