अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लाभरिका युवाको सिर्जनशील अभिव्यक्ति विकास, स्थानीय पहिचानको प्रवर्द्धन, पर्यटन सम्भावनाको प्रचार तथा आपसी सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता दुई चरणमा सम्पन्न हुने छ ।

पहिलो चरणमा प्रत्येक स्थानीय तहबाट एक जना छात्र र एक जना छात्रा गरी प्रतिनिधि छनोट गरिने छ भने, दोस्रो तथा अन्तिम चरणमा पाँच जना उत्कृष्ट वक्ताहरूलाई पुरस्कृत गरिने छ । स्थानीय तहको छनोट चरणमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतिस्पर्धीहरूलाई स्टेशनरी सामग्री पुरस्कार स्वरूप प्रदान गरिने प्रवक्ता सुदीप भुषण अर्यालले बताए ।

प्रतियोगिताका लागि ३० वर्षमुनि उमेर समूहभित्र (माध्यमिक देखि स्नातक तह)का युवा सहभागी हुन योग्य हुनेछन् । अन्तिम चरणमा उत्कृष्ट स्थान हासिल गर्ने विजेताहरूलाई प्रथम पुरस्कार: रु ५०,००० ।-, द्वितीय पुरस्कार: रु ३०,००० ।-, तृतीय पुरस्कार: रु २०,००० ।- चौथो पुरस्कार: रु १०,००० ।- र पाँचौं पुरस्कार: रु ५,००० ।- नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

समाजले जिल्लाभित्रका सम्पूर्ण स्थानीय तहहरूमा प्रतियोगिताको जानकारी पुर्‍याई प्रतिनिधि छनोटको प्रक्रिया सहज बनाउन समन्वय र सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ ।

सहभागी प्रतिनिधिहरूको विवरण १० भदौभित्र [email protected] मा पठाइसक्न अनुरोध गरिएको छ ।

शिक्षा क्षेत्रको सहयोग, समन्वय र मार्गदर्शनले प्रतियोगिता अझ प्रभावकारी हुने विश्वास आयोजक समितिले व्यक्त गरेको छ ।

समाजले यस्ता गतिविधिबाट युवालाई नेतृत्वको दिशामा प्रेरित गर्न चाहेको अध्यक्ष राजन खकुरालले बताए ।

कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष बद्री खतिवडाका अनुसार यो प्रतियोगिता सिर्जनशीलता, आत्मविश्वास र स्थानीयताको प्रवर्द्धनका लागि एक महत्वपूर्ण अवसर हो । महासचिव बाबुकाजी भण्डारी र सचिव कल्याण विक्रम कार्कीले प्रतियोगितालाई अन्तर्राष्ट्रिय धादिङेली समृद्धिको अभियानसँग जोडिएको रचनात्मक पहल भएको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ