विभिन्न स्थानबाट लागूऔषधसहित १९ जना पक्राउ

Thankot Times

थानकोट ।

लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ परेका छन् ।

काठमाडौँ, झापा, कञ्चनपुर लगायतका जिल्लाबाट १९ जना पक्राउ परेका हुन् । 

काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित एक होटेलबाट कोकिन १ किलो ५ सय ७४ ग्राम सहित भारतीय नागरिक ३५ वर्षीया रुबिना अब्दुल्लाह शेखलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त कोकिन सहित पक्राउ गरेको हो । साथै उक्त लागूऔषध लिन आएका भारतीय नागरिक ३३ वर्षीय अरुण प्रतापलाई समेत सोही होटेलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौँको नागार्जुन नगरपालिका–३ इचँगुनारायणबाट कोकिन ३२ ग्रामसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इरिट्रियन नागरिक ३७ वर्षीय युसुफ एटम र रसियन नागरिक ४४ वर्षीय आन्द्रेही मालिसेभ रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त कोकिन सहित पक्राउ गरेको हो ।

त्यस्तै झापाको कन्काई नगरपालिका–३ सुरूङ्गाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६ ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा गाउँपालिका–३ बस्ने २४ वर्षीया प्रेमकला महतो र सिन्धुली भिमान नगरपालिका–१० बस्ने २६ वर्षीय विनोद विक रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुरको लालझाडी गाउँपालिका–१ डाँडा बिचवाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ५ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २९ वर्षीय गोबिन्द राना र २४ वर्षीय सन्जुकुमार राना रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरीले बेलौरीबाट कैलालीतर्फ जाँदै गरेको सु.प.प्र.०१–०१३ प ३८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

उता कैलालीको भजनी नगरपालिका–३ कुसमघाटबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ७ सय ७० मिलिग्रामसहित जानकी गाउँपालिका–५ पथरैया बस्ने २२ वर्षीय रूपेश चौधरीसमेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.४ प ५४५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–१ कैलाली चोकबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका–१ सुन्दरपुर बस्ने २४ वर्षीय चन्दु विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ रेल्बे लाईन टोल बस्ने ४० वर्षीय सरोजकुमार कुर्मीलाई उनकै घरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ४० मिलिग्रामसहित बिहीबार बेलुकी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ हड्डी चोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–३ बस्ने ३० वर्षीय सुरेन्द्रकुमार गुप्ता र २२ वर्षीय मिथ्लेस पासी रहेका छन् ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ने. १ ह ३७४० नम्बरको ईरिक्सामा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यता सुनसरीको धरान उपमहानगरपालिका–२० बाट करिब २३ किलो ८ सय ४० ग्राम गाँजासहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने ३२ वर्षीय बिरेन राई र ३८ वर्षीय मोहन राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले साँगुरीगढीबाट धरानतर्फ आउँदै गरेको प्र–१–०२–०५२ प ९६५७ र को–३८ प २६९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरीकै इटहरी उपमहानगरपालिका–१७ पकलीबाट १ किलो २ सय ग्राम गाँजासहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर हतुवागढी गाउँपालिका–९ बस्ने २४ वर्षीय बिसु राई र १९ वर्षीय निनोस राई रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सुनसरीकै धरान उपमहानगरपालिका–८ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका–७ बस्ने २६ वर्षीय कार्लोस रिजाललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *