चन्द्रागिरि नगरका सबै विद्यालयमा अब नेपाल र तामाङ भाषापनि पठनपाठन हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अब नेपाल र तामाङ भाषापनि पठनपाठन हुने भएको छ ।
स्थानीय भाषाका रुपमा नगर क्षेत्रका विद्यालयमा ती भाषामा समेत पठन पाठन हुने नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।
नगर क्षेत्रमा नेपाल र तामाङ भाषाको पाठ्यक्रम तयार गर्न नगर शिक्षा शाखाका अतिरिक्त काठमाडाैं महानगर नेपालभाषा समितिका दिपक तुलाधर, टोखा नेपालभाषा समितिका श्रीकृष्ण मानन्धर, नेपाल भाषा शिक्षिका (संस्थागत विद्यालय) सोनी श्रेष्ठ, नेपाल भाषा शिक्षिका (सामुदायिक विद्यालय) रमिता बज्राचार्यलगायतले सहजीकरण गर्ने बताइएको छ ।
चन्द्रागिरिको रहनसहन, जनजीवन, संस्कृति र सम्पदालाई स्थानीय भाषामै शिक्षा दिँदा मौलिकता कायम हुने भएकाले नेपाल र तामाङ भाषा शिक्षणको माध्यम बनाइएको नगरप्रमुख गिरीको भनाइ छ।
स्थानीय पाठ्यक्रम सिकारुहरू आफ्नै भाषा, संस्कृति, सम्पदा तथा वातावरणका बारेमा सिक्ने अवसर पाऊन् तथा सिक्नका लागि प्रोत्साहित होऊन् भन्ने कुराको सुनिश्चितताका लागि स्थानीय तहबाट निश्चित भाषामा पाठ्यक्रम अध्यापन गर्न पाउने प्रावधान छ ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप-२०७६ ले स्थानीय विषय अन्तर्गत मातृभाषा, स्थानीय ज्ञान, सिप र प्रविधिमा आधारित विषयसँग सम्बन्धित क्रियाकलाप समेट्ने गरी आधारभूत तहमा स्थानीय विषयको पठनपाठन हुने व्यवस्था गरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनअनुसार चन्द्रागिरिको कूल जनसंख्या १ लाख ३६ हजार ८ सय ६० रहेकोमा नेपाल भाषा बोल्ने नागरिकहरूको संख्या २९.३ तथा तामाङ भाषा बोल्ने नागरिकहरूको संख्या ११.९ प्रतिशत रहेको छ ।
नगरमा नेपाली भाषा बोल्ने नागरिकहरूको संख्या ५९.१ प्रतिशत रहेको छ ।













