कर संकलनका लागि चन्द्रागिरि नगरलाई ‘भालुको कम्पट’ बन्दै दहचोक भ्यूटावर, पुनः ठेक्का आह्वान
थानकोट ।
देशका घुम्नैपर्ने एक सय गन्तव्यको सूचीमा रहेको चन्द्रागिरि नगरपालिका-१ दहचोक इन्द्रस्थानस्थित कालु पाँडे समाधिस्थल हातामा निर्माण भएको भ्यू-टावर सञ्चालन भइरहेपनि सोबाट राजश्व संकलन नभएपछि सो का लागि चन्द्रागिरि नगरपालिकाले आयकर संकलनका लागि पटक पटक सार्वजनिक ठेक्का आह्वान गरेपनि हालसम्म कुनै ठेक्का सदर नभएपछि पुनः सार्वजनिक ठेक्का आह्वान भएको छ ।
गोरखापत्र राष्ट्रिय दैनिकमा आज (साउन १८) सूचना जारी गर्दै नगरले भ्यू टावर, कालु पाँडे समाधिस्थल, पार्किङ व्यवस्थापन एवं गिफ्ट शप सञ्चालनबाट आयकर संकलनका लागि यस वर्ष दोश्रो ठेक्का आह्वान गरेको हो । यसअघि असार ११ मा समेत नगरले ठेक्का आह्वान गरेको थियो ।
ती कार्यका लागि न्यूनतम ७ लाख ५० हजार रुपैयाँ कबोल अंक कायम गरिएको छ ।
यीनै कार्यका लागि गत वर्ष न्यूनतम २० लाख रुपैयाँ कबोल अंक कायम गरिएकोमा ठेक्का नलागेपछि यसपटक कबोल अंकमा व्यापक हेरफेर गरिएको हो ।
इन्द्रस्थान भ्यू-टावरबाट आयकर संकलनका लागि चन्द्रागिरि नगरले तेस्रोपटक ठेक्का आह्वान गर्यो
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १९ को उपदफा २ घ को १, २, र १३, परिच्छेद ९ को दफा ६० र ६२ को व्यवस्था, चन्द्रागिरि नगरपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) कार्यविधि, २०७८ र चन्द्रागिरि नगरपालिका कार्यपालिकाको निर्णयको अधिनमा रही नगरपालिकाको क्षेत्राधिकारभित्र रही सो ठेक्का आह्वान गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
सो ठेक्का सम्झौता ३ वर्षको लागि हुने र कबोल गरेको रकममा प्रत्येक वर्ष १० प्रतिशतका दरले वृद्धि हुने बताइएको छ ।
२०८१ सालमा बैशाख २१ गते नगरले पहिलो पटक ती संरचना भाडामा लगाउन ठेक्का आह्वान गरेकोमा कुनै ठेक्का स्वीकृत नभएपछि असार ६ गते पुनः सूचना जारी भएको थियो । सो आह्वानमा समेत कुनै ठेक्का स्वीकृत नभएपछि नगरले साउन ४ गते पुनः ठेक्का आह्वान गर्दै सूचना जारी गरेकोमा कुनैपनि ठेक्का स्वीकृत नभएपछि दहचोक भ्यू टावरबाट आयकर संकलनको कार्य हुन सकेको थिएन् ।
इच्छुक व्यक्ति वा संस्थाले भदाै २ गतेभित्र बोलपत्र पेश गर्न सक्ने नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।
वि.सं २०७५ फागुन ९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कालु पाँडेको समाधिस्थलसँगै उनको पूर्णकदको शालिक अनावरण गरेका थिए भने सोही बखत ओलीले दहचोकमा निर्माण गरिएको पाँच तले भ्यू टावरको उद्घाटन गरेका थिए ।













