पोखराबाट सिन्धुली फर्कियो हायू परिवार

थानकोट ।

पोखरामा मजदुरी गरी जीवन चलाउने उद्देश्य लिएर साउन ११ गते आएको हायू परिवार सोमबार सिन्धुली फर्किएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रविन श्रेष्ठको पहलमा उर्मिला हायूको १९ सदस्यीय परिवार दिउँसो साढे ३ बजे गाउँ फर्किएको हो ।

गएको साउन ९ गते राति घरका पशुसमेत त्यतिकै छाडी सम्पर्कविहीन बनेको हायू परिवार ११ गते पोखरामा फेला परेको थियो ।

सोमबार बिहान पोखरा आइपुग्नुभएका वडाध्यक्ष श्रेष्ठ उनीरूलाई लिएर गाउँ फर्किएका हुन् । 

वडाध्यक्ष श्रेष्ठले हायू परिवारलाई अहिलेलाई बस्न आफ्नै घर दिने निर्णय गरेका छन् ।।

“उहाँहरू आफ्नो घरमा जाँदैनौं भन्नुभएको छ । अहिले मेरो घरमा लगेर राख्छु,” अध्यक्ष श्रेष्ठले भने, “पछि स्थायी आवासको प्रबन्ध गरिदिन्छौँ । उहाँहरुको पूरै परिवारलाई लिएर हामी जाँदै छौँ ।” गोलन्जोर गाउँपालिका वडा नम्बर ६ को बिखर कटेरीमा एकलासमा घर भएको हायू परिवार अब सोही वडाको सुङ्गुरेमा रहेको वडाध्यक्ष श्रेष्ठको घरमा बस्ने छ ।

तीन वर्षअघि श्रीमानकाे आकस्मिक मृत्यु भएपछि परिवारको दायित्व सम्हाल्दै आएकी उर्मिला हायूले अन्तिमसम्मै आफ्नो घरमा नजाने अडान राखेकी थिइन् ।

 जनप्रतिनिधिहरूले हायू परिवारलाई सुरक्षित ठाउँमा आवासको प्रबन्ध गरिदिने र ऋण तिरिदिने प्रतिबद्धता जनाएपछि यो परिवार गाउँ फर्किएको हो । 

यसअघि बुधबार बिहान हायू परियारलाई सम्झाएर गाउँ फर्काउन पोखरा आइपुगेको टोली त्यतिकै फर्केको थियो । परिवारका सदस्य बारम्बार बिरामी परेको भन्दै घर छाडेको उर्मिलाले बताएकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *