चन्द्रागिरि-७ को शहरी स्वास्थ्य केन्द्र बनदेवी सामुदायिक भवनमा स्थानान्तरण गर्न स्थानीयको माग
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०७ थानकोट महादेवस्थानमा रहेको शहरी स्वास्थ्य केन्द्र स्थानान्तरण गर्न माग गर्दै स्थानीयले वडा कार्यालयमा निवेदन दिएका छन् ।
हाल वाणस्थली सीमचाैरबाट सेवा प्रवाह गरिरहेको केन्द्रले स्थापना कालदेखी नै भाडाको घरबाट सेवा दिइरहेको छ ।
सो वडाको वनदेवीस्थित (यसअघि वनदेवी प्राथमिक विद्यालय रहेको स्थान) वनदेवी सामुदायिक भवनबाट स्वास्थ्य चाैकी (केन्द्र) को सेवा प्रवाह सुरु गर्नका लागि स्थानीयले वडा कार्यालयलाई बुधबार माग पत्र पेश गरेका हुन् । सार्वजनिक भवन खाली रहेको तर सरकारी स्वास्थ्य संस्थाले भाडा तिरेर निजी घरबाट सेवा प्रवाह गरेकाेले साे कार्यलय यथासक्य सामुदायिक भवनमा सार्न उनीहरूले माग गरेका छन् ।
मागपत्र बुझेपछि वडा अध्यक्ष शम्भुकुमार केसीले जनताको भावना अनुसार काम गरिने प्रतिक्रिया दिए । चन्द्रागिरि नगरका अन्य केही वडाहरूमा पनि शहरी स्वास्थ्य केन्द्र एक भन्दा बढी ठाउँमा स्थापना भएको उदाहरण दिँदै वडाध्यक्ष केसीले आफ्नो वडामा पनि एक भन्दा बढी स्थानमा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिन कुनै समस्या नरहेको धारणा राखे ।
साे माग पत्र नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ तथा नगरकाे स्वास्थ्य सेवा शाखामा समेत बाेधार्थ दिइएको बताइएको छ।
वनदेवी सामुदायिक भवन बहुपयोगका लागि बागमती प्रदेश सरकारको बजेट व्यवस्थापनमा निर्माण भएको हो ।
उसो त चन्द्रागिरि नगरपालिका वडा नंं ७ को कार्यालय समेत भाडाकै घरमा छ । चन्द्रागिरि वडा नं. २ बाँडभञ्ज्याङ, वडा नंं ५ महादेवस्थान र वडा नं. ७ महादेवस्थानले अझै आफ्नो कार्यालय बनाउन सकेका छैनन् ।
वडा नं. २ को कार्यालय बाँडभञ्ज्याङ स्वास्थ्य चाैकी भवनमा राखिएको छ भने बाँकी २ वटा वडाले घर भाडामा लिएर सेवा प्रवाह गरिरहेका छन् ।
यो पनि पढ्नुहोस्ः
चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ को कार्यालय भवन बनाउन मन्त्रिपरिषद् बाट जग्गा स्वीकृत













