गाईजात्रा पर्वका दिन प्रदेशभर सार्वजनिक बिदा दिने बागमती प्रदेश सरकारको निर्णय

Thankot Times

थानकोट ।

 गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले साउन २५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले मन्त्रिपरिषद्को निर्णयअनुसार सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको जानकारी दिइन्।

गाईजात्रा पर्व विशेषगरी नेवार समुदायमा मनाइने प्रमुख सांस्कृतिक पर्व हो। काठमाडौं उपत्यकासहित नेवार समुदायको बाक्लो बसोबास रहेको ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुर लगायतका जिल्लामा गाईजात्रा उल्लासपूर्वक मनाइन्छ। मृत आत्माको शान्तिको कामना गर्दै मनाइने यो पर्वमा गाई वा मानिसलाई गाईसरह सिँगारी नगर परिक्रमा गराइन्छ।

नेवार समुदायको मौलिक संस्कृति झल्किने यो पर्व प्रदेशको सांस्कृतिक विविधता र समावेशीपनको परिचायक मानिन्छ। यही महत्त्वका कारण प्रदेश सरकारले यस वर्षदेखि गाईजात्रालाई सार्वजनिक बिदा सूचीमा राखेको हो।

यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकाभित्र मात्र स्थानीय बिदा दिइने गरिए पनि अब बागमती प्रदेशअन्तर्गत सबै जिल्लामा समान रूपमा सार्वजनिक बिदा लागू हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *