चन्द्रागिरि नगरमा १२ हजार विद्यार्थीको नेत्र परीक्षण गरिँदै, चन्द्रागिरि हिल्सले चश्मा उपलब्ध गराउने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूको नेत्र परीक्षण गरिने भएको छ । 

रोटरी क्लब अफ डिल्लीबजार, मातृका आइ सेन्टर, चन्द्रागिरि हिल्स, मैतिदेवीस्थित सहज फाउण्डेशन, जीएमपी तिमिल्सिना फाउण्डेशन र कालिभक्त-कृष्ण मेमोरियल फाउण्डेशनसँगको सहकार्यमा नगर क्षेत्रका सामुदायिक विद्यालयका अध्ययनरत सबै विद्यार्थीहरूको आँखाको दृष्टि परीक्षण अभियान थालनी हुने भएको हो ।

“दृष्टि पहिलो” अभियान अन्तर्गत चन्द्रागिरि नगरमा सामुदायिक विद्यालय-आधारित आधारभूत आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागिएको रोटरी क्लब अफ डिल्लीबजारले जनाएको छ । 

यसबारेमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि शिक्षक तथा विद्यालय नर्सहरूका लागि अभिमूखिकरण दिइसकिएको चन्द्रागिरि नगर शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । 

अभियानका क्रममा आँखाको दृष्टिमा समस्या देखिएमा थप उपचारका लागि उल्लिखित संघसंस्थाले नै अग्रसरता लिने बताइएको छ । 

सुरुमा हरेक विद्यालयमा सम्बन्धित विद्यालयकै शिक्षक तथा विद्यालय नर्सहरूबाट नै विद्यार्थीहरूको आँखा सम्बन्धी समस्याको स्क्रीनिङ हुने र समस्या देखिएका विद्यार्थीहरूको चरणबद्ध रूपमा परीक्षण तथा उपचार हुने नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । 

पहिलो चरणमा समस्या पहिचान भएका विद्यार्थीहरूको मातृका आइ सेन्टरका अप्टोमेट्रिस्ट र नेत्र चिकित्सकहरूले विस्तृत आँखा परीक्षण गर्नेछन्।

चन्द्रागिरि हिल्सले परीक्षणका क्रममा कुनै विद्यार्थीका लागि चश्मा आवश्यकता पर्ने भएमा सो उपलब्ध गराउने बुझिएको छ । 

करिब २ दर्जन सामुदायिक विद्यालय सञ्चालनमा रहेको चन्द्रागिरि नगरमा ती विद्यालयमा करिब १२ हजार विद्यार्थी अध्ययनरत छन् ।

राष्ट्रिय तथ्यांकअनुसार नेपालका विद्यालयहरूमा प्रारम्भिक जाँच गर्दा करिब ८-९ प्रतिशत बालबालिकामा दृष्टि दोष देखिने गरेको पाइन्छ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *