राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ भदौ २० बाट सुरु हुँदै, ग्रान्ड फिनाले मंसिरमा
थानकोट।
नेपाल राष्ट्रिय विद्यालय खेलकुद महासंघ, नेपालया इन्टरनेसनल इभेन्ट्स प्रा.लि. र प्याब्सनको संयुक्त आयोजनामा राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिताका लागि जिल्ला छनोट भदौ २० गते तथा प्रदेश छनोट कात्तिक १६ देखि २३ गतेसम्म हुनेछ ।
प्रतियोगितामा ७ वटै प्रदेश र काठमाडौं उपत्यकाको १ गरी ८ टिमले मंसिर ५ देखि ७ गतेसम्म काठमाडौंमा हुने ग्रान्ड फिनालेमा सहभागी हुने बताइएको छ । ग्रान्ड फिनालेअघि ७७ जिल्ला र ७ प्रदेशमा छनोट प्रतियोगिता हुने छ ।
प्रतियोगितामा सबै विद्यालयलाई खुला गरिएको महासंघका महासचिव राजकुमार कार्कीले जानकारी दिए ।
प्रतियोगिता सञ्चालन विधि, नियम, प्रश्न, प्राविधिकलगायतका कार्य आईएसएफ एकेडेमी र नेपालयाले गर्ने छ ।
‘शिक्षा, खेलकुद, सहभागिता र सिर्जनशीलतामा अब इतिहास बनाउने यात्रा’ नारासहित हुन लागेको प्रतियोगिताअन्तर्गत पुरुष-महिला विजेताले स्कुटर, उपविजेताले ल्यापटप र तेश्रो हुनेले मोबाइल फोनसहित गिफ्ट ह्याम्पर पाउने छन् ।
प्रतियोगिता सञ्चालन गर्न प्रोडक्सन खर्च बाहेक १ करोड २४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
संघीय सांसद समेत रहेका महासंघका वरिष्ठ उपाध्यक्ष माधव सापकोटाले प्रतियोगिताले राष्ट्रिय सम्पत्तिका रुपमा रहेका विद्यार्थीको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने बताए । महासंघका अध्यक्ष विनोद श्रेष्ठले महासंघको अभियानमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
महासंघका उपाध्यक्ष एवं ब्राइट फ्यूचर माविका संस्थापक अध्यक्ष मोहन कार्कीले विद्यार्थीमा खेलकुदका बारे अझ रुची बढाउन कार्यक्रम फलदायी हुने विश्वास लिइएको बताए ।
नेपालयाका अध्यक्ष सुवास प्रधानले यो प्रतियोगिता इभेन्ट मात्र नभइ विद्यार्थीको महोत्सव पनि भएको प्रतिक्रिया दिए ।
बिहीबार काठमाडाैंमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय विद्यालय खेलकुद महासंघ र नेपालयाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
बिहीबार नै प्रतियोगिताको लोगो अंकित टिसर्ट पनि सार्वजनिक गरिएको छ ।













