एएफसी यू-२० महिला एशियन कप छनोटमा नेपालको पहिलो जित, साउदी अरेबिया १-० ले पराजित
थानकोट ।
एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले साउदी अरेबियालाई हराएको छ ।
भुटानको चाङ्लिमिथाङ रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलले हराएको हो ।
नेपालकी शुक्रिया मियाँले खेलको ९०औं मिनेटमा गोल गरिन् । जुन नेपालका लागि ३ अंक बटुल्न पर्याप्त रह्यो ।

यसअघि खेलको ३६औं मिनेटमा पाएको पेनाल्टी नेपालले सदुपयोग गर्न सकेन । मीना देउवाले प्रहार गरेको पेनाल्टी बारमा लागेको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली भूटानसँग १–१ गोलको बराबरी खेलेको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बलियो टोली उत्तर कोरियासँग खेल्नेछ ।
३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् ।
हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।
तस्बिरः एन्फा













