खानेपानीको दीर्घकालीन समाधानको लागि वडास्तरबाट पनि काम भइरहेको चन्द्रपुर–२ का वडाध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए । वडाको जुडिबेला टोलमा ५१ घर, जोगी टोलमा ३५, नर्सरी टोलमा ७० र रैयाटोलमा ३१ घरका नागरिक खानेपानीबाट प्रभावित भएका छन् ।
ती टोलमा अक्फाम नेपालको आर्थिक सहयोगमा नौ वटा एक÷एक हजार लिटरको ड्रमसहित विभिन्न सामग्री किनेर नगरपालिकाले खानेपानी वितरण गर्दै आएको आरडिसी नेपालकी स्थलगत अधिकृत ज्योति फुँयालले जानकारी दिए । उनका अनुसार अहिले जोगीटोलमा ४० वर्ष पुरानो धारा मर्मत गरेर पानी उपलब्ध गराइएको छ ।
जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाले पानी वितरणका लागि पाइपको व्यवस्था गर्न सके यो समस्या समाधान हुने बताए । आयोजनाको पानी वितरणका लागि पाइप नभएकाले वितरण गर्न नसकेको भन्दै उनले करिब दुई हजार ५०० उपभोक्तामध्ये ९२ घरले आयोजनाको पानी खाइरहेका उनले जानकारी दिए ।
पाइपको लागि पटक–पटक सम्बन्धित निकायमा आग्रह गर्दासमेत सुनवाइ नभएपछि पानी वितरण गर्न नसकिएको अध्यक्ष थपलियाको भनाइ छ । उनका अनुसार आयोजनामा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ ।
आयोजनाअन्तर्गत ‘डिपबोरिङ’ जडान, कार्यालय भवन निर्माण, विद्युतीकरण, पम्प हाउस निर्माण तथा करिब २७ किलोमिटर मुख्य लाइनको पाइप गाडिसकिएको अध्यक्ष थपलियाले जानकारी दिए । बजेट अभावका कारण मुख्य लाइनको पाइप खरिद गर्न नसक्दा काम ठप्प भएको उनले बताए । यो आयोजना सम्पन्न गर्नका लागि अनुमानित रु दुई करोड बजेट आवश्यक पर्ने उनले जानकारी दिए ।
आयोजना सञ्चालन हुनेवित्तिकै जुडिबेलामा खानेपानीको समस्या समाधान हुने स्थानीय राजन थापाले बताए। आयोजनाको कामलाई शीघ्र सम्पन्न गरी पानीको सहज आपूर्ति मिलाउन उहाँले सरोकार भएका सबैलाई आग्रह गरे ।


















