काठमाडौं प्याब्सन छात्र फुटसलको उपाधि पिस प्वाइन्टलाई
थानकोट ।
पिस प्वाइन्टले प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
पिस प्वाइन्ट प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो ।
सुकेधारास्थित बागमती स्कुलमा भएको फाइनलमा पिस प्वाइन्टले एक्टिभलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्यो ।
पिस प्वाइन्टका प्रज्ञान राईले ह्याट्रिक गरे भने दिलिप राई, आयुश लिम्बू, सागर दर्जी र सुमन बमले समान १–१ गोल थपे । एक्टिभका विनोद बुढाथोकीले सान्त्वना गोल फर्काए ।
काठमाडौं प्याब्सनको आयोजना तथा काठमाडौं महानगर प्याब्सनको व्यवस्थापनमा भएको प्रतियोगितामा शुभकामनाले ह्वाइट हेभनलाई ३–१ गोलले हराउदै तेश्रो भयो ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेको काठमाडौं महानगर प्याब्सनका सचिव एवं गण्डकी स्कुलका प्रिन्सिपल आरसी भट्टले जनाएका छन् ।
एक्टिभका विनोद भण्डारी उत्कृष्ट खेलाडी घोषित भए ।
पिस प्वाइन्टका सागर दर्जी उत्कृष्ट गोलरक्षक चुनिए ।
प्रतियोगिताभर १२ गोल गरेका पिस प्वाइन्टका प्रज्ञान राई सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सन्जेल, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, बागमती स्कुलका संस्थापक प्रिन्सिपल सुरेन्द्र सिटौला, प्याब्सन केन्द्रीय सचिवालय सदस्य प्रहलाद खनाल, काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, एन्जल्स हार्ट स्कुलका प्रिन्सिपल धनबहादुर पुन, काठमाडौं महानगर प्याब्सनका इसीए विभाग प्रमुख राजकुमार बोगटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगतामा काठमाडौं महानगर र काठमाडौंका विभिन्न ९ महानगरपालिका विद्यालयका ४५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुदर्शन जमकटेलले जनाए ।
प्रतियोगितामा चन्द्रागिरि नगरका रिब्स, ब्राइट एञ्जल्स र बालतारा प्रतिष्ठानले सहभागिता जनाएकोमा रिब्सले मात्रै अन्तिम ८ सम्मको यात्रा गर्न सक्यो ।
















