एसइईमा ४ जीपीए ल्याउने २१५ जना विद्यार्थी तथा शतप्रतिशत विद्यार्थी उत्तीर्ण विद्यालय सम्मानित हुँदै
थानकोट ।
निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको काठमाडाैं जिल्ला शाखाले गत वर्षको एसइईमा ४.० जीपीए प्राप्त गर्ने विद्यार्थी
तथा सो परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई सम्मान गर्ने भएको छ ।
मंगलबार एक सूचना जारी गर्दै प्याब्सन काठमाडाैंले सो जानकारी दिएको हो ।
जसअनुसार प्याब्सनसँग आवद्ध काठमाडाैं जिल्लाका १५९ विद्यालयका २१५ जना विद्यार्थी साउन २८ मा (बुधबार) सम्मानित हुँदैछन् ।
सम्मानित हुनेमा चन्द्रागिरि नगरपालिका क्षेत्रका ब्राइट फ्यूचर माविका ४ जना, जेसिस इन्टरनेशनल स्कुल, एआई र विद्याश्री एकेडेमीका समान १-१ विद्यार्थी समेत छन् ।
प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा बिहान ९ः३० बजे आयोजना हुने एक कार्यक्रमका बीच उनीहरूलाई सम्मानित गर्न लागिएको हो ।
यस्तै, एसइई-२०८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल काठमाडाैंका १५९ संस्थागत विद्यालयलाई समेत बुधबार नै सम्मान गरिने बताइएको छ ।
जसमा चन्द्रागिरिका ११ वटा विद्यालय छन् ।
सम्मानित हुने चन्द्रागिरि नगरका विद्यालयहरूमा ब्राइट फ्यूचर मावि (१३६ जना),बालतारा प्रतिष्ठान (३४ जना), बेसिक लर्निङ स्कुल (४७ जना), गोल्डेन फ्लावर गार्डेन स्कुल (१६ जना), संवृद्धि लर्निङ एकेडेमी (१८ जना),माउण्ट चन्द्रागिरि स्कुल (५५ जना),न्यू डायमण्ड एकेडेमी (१७ जना),मेगा पब्लिक एकेडेमी (९ जना), ऋचा सह शिक्षा सदन (४३ जना), सप्तर्षी ज्ञानपीठ (६ जना) र विद्याश्री एकेडेमी (१२ जना)रहेका छन् ।
यस्तै, विभिन्न विषयमा सर्वोत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी तथा विषय शिक्षकसमेत सम्मानित हुनेछन् ।
एसइई २०८१ः चन्द्रागिरिका ५५ मध्ये १३ विद्यालयबाट शतप्रतिशत परीक्षार्थी उत्तीर्ण














